Kathmandu Press
मोटोपन कति खतरनाक ? मोटोपन बढ्न नदिन के गर्ने ?
मोटोपन कति खतरनाक ? मोटोपन बढ्न नदिन के गर्ने ?पोषणविद् आचार्यका अनुसार ५ फिट उचाइ भएको मानिसमा ५० देखि ५४ केजीसम्म तौल हुनुपर्छ । ५ फिट १ इन्च उचाइ भए तौल ५१ देखि ५५ हुनुपर्छ भने ५ फिट २ इन्च उचाइ भएको व्यक्तिको तौल ५६ केजीदेखि ६० केजी हुनु आवश्यक छ।

काठमाडौं, फागुन ९ : पछिल्लो समय मानिसहरूमा मोटोपन एउटा जटिल स्वास्थ्य समस्याका रूपमा देखा परेको छ। त्यसो त दुब्लोपन पनि समस्याकै रूपमा रहे पनि त्यसको तुलनामा मानिसहरूलाई मोटोपनको समस्याले बढी गाँज्दै लगेको तथ्यांकहरूले प्रस्ट्याउँछन्।

विश्वभरि नै मोटोपन समस्याका रूपमा देखिरहँदा नेपालीहरूमा पनि मोटोपन देखिने क्रम बढेको छ । मोटोपनले विभिन्न रोग निम्त्याउने भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने सुझाव चिकित्सक तथा पोषणविद्हरूले दिँदै आएका छन् । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ मा १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषहरुको तौल र उचाइ मापन गरिएको थियो। समग्रमा १७ प्रतिशत महिलामा अति दुब्लोपन पाइएको थियो भने २२ प्रतिशत महिलामा अति मोटोपन देखिएको थियो। सो सर्वेक्षणको सन् २००६ को तथ्यांकअनुसार ९ प्रतिशत महिलामा मोटोपन पाइएको थियो। उक्त तथ्यांकले १० वर्षको अन्तरालमा मोटोपन दोब्बरभन्दा बढी गुणाले वृद्धि भएको देखाउँछ। 

सन् २०१६ कै तथ्यांकअनुसार पुरुषका सन्दर्भमा १७/१७ प्रतिशतमा अति दुब्लोपन र अति मोटोपन पाइएको थियो। यसरी पुरुषको तुलनामा महिलामा मोटोपनको समस्या बढिरहेको सन् २०१६ को स्वास्थ्य सर्वेक्षणले पुष्टि गर्छ।

त्यसैगरी सन् २०२२ (२०७९ मंसिर) मा पनि त्यस किसिमको सर्वेक्षण भएको थियो तर त्यसको तथ्यांक सार्वजनिक भने हुन बाँकी छ । सबै तथ्यांक विश्लेषण हुन बाँकी रहेको हुँदा माटोपा र दुख्लोपनबारेको पछिल्लो विवरणको प्रतीक्षा भइरहेको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले जानकारी दिए।

‘विस्तृत तथ्यांक आउन बाँकी रहेकाले अहिले नेपालमा कति प्रतिशत अति मोटोपन र कतिमा अति दुब्लोपन रहेको छ भनी यकिनका साथ भन्न सकिने अवस्था छैन,’ उनले भने।

खानपान शैली बिग्रँदै गएकाले नेपालमा मोटोपनको समस्या सन् २०१६ को तुलनामा बढ्दै गएको आँकलन गरिएको उनले बताए। ‘अस्वस्थकर जीवन शैलीले गर्दा मोटोपन बढेको देखिन्छ,’ उनले भने, ‘तर कति प्रतिशत भन्ने थाहा पाउन भने तथ्यांक नै कुर्नुपर्ने हुन्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० मा सार्वजनिक गरेको एक तथ्यांकअनुसार विश्वमा करिब १ अर्ब ९ करोड मानिसमा मोटोपनको समस्या छ। तीमध्ये करिब ६५ करोड वयस्कमा मोटोपनको समस्या रहेको झन्डै ४ करोड २० लाख बालबालिका मोटोपनको समस्याबाट ग्रसित छन्।

यसरी विश्वव्यापी रूपमै बढ्दै गएको अति मोटोपन र अति दुब्लोपनाले स्वास्थ्यमा असर पु¥याउन सक्ने पोषणविद् अनुश्री आचार्य बताउँछिन्। कुनै पनि मानिस अति दुल्लो हुनु र अति मोटो हुनुले स्वास्थ्यमा विभिन्न किसिमका समस्या निम्त्याउन सक्ने भएकाले यसलाई नजरअन्दाज नगर्न उनको सुझाव छ।  

कसरी जाँच्ने उचाइअनुसारको वजन?  

पोषणविद् आचार्यका अनुसार हरेक मानिसमा उचाइअनुसारको तौल हुनु आवश्यक छ।  बडी मास इन्डेक्स (बिएमआई) ले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनुपर्छ भन्ने जनाउँछ। ‘बिएमआई निकाल्न मानिसको उचाइ मिटरमा र तौल किलोमा नाप्नुपर्छ। उचाइमा आएको मिटरलाई दुईपटक गुना गरेपछि आउने प्रतिफलले तौललाई भाग गर्दा आउने अंकले बिएमआई देखाउँछ,’ उनले भनिन्।

anushree acharya1676983496.jpg

पोषणविद् अनुश्री आचार्य

दुब्लोपन र मोटोपन विश्वमा बढ्दै गएको स्वास्थ्य समस्या रहेको उनको भनाइ छ। अति दुब्लोपन र अति मोटापनले स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने भएकाले उचाइअनुसारको वजन हुनुपर्नेमा सबै सचेत हुनुपर्ने मनोविद् आचार्य बताउँछिन्।

युरोपेली राष्ट्रहरूमा १८.५ भन्दा कम बिएमआइ भए दुब्लो मानिन्छ भने १८.५ देखि २५ सम्म बिएमआई भए त्यसलाई उत्तम वजन भएको मान्ने गरिन्छ। त्यस्तै २५ देखि ३० बिएमआई भए त्यसलाई अधिक वजन भएको मान्न सकिन्छ, जसले स्वास्थ्यमा विभिन्न किसिमका समस्या निम्त्याउन सक्ने उनको भनाइ छ। 

पोषणविद् आचार्यका अनुसार दक्षिण एसियाली राष्ट्रमा भने १८.५ देखि २२.९ सम्मको बिएमआईलाई सामान्य तौल र २३ भन्दा माथिको बिएमआईलाई बढी तौल भएको मान्ने गरिन्छ। बिएमआईले शरीरमा बोसो कति छ भनी जाँच्न सक्दैन।  रेस्लरहरूको उचाइभन्दा तौल निकै बढी हुन्छ तर उनीहरुले गर्ने कडा कसरतले भने शरीरमा बोसो जम्म नदिने भएकाले उनीहरू स्वस्थ्य रहने गर्छन्।  

उचाइअनुसार कति तौल हुनुपर्छ?

मानिसले स्वस्थ रहन उचाइअनुसारको तौल व्यवस्थापन गर्नुपर्छ । पोषणविद् आचार्यका अनुसार ५ फिट उचाइ भएको मानिसमा ५० देखि ५४ केजीसम्म तौल हुनुपर्छ । ५ फिट १ इन्च उचाइ भए तौल ५१ देखि ५५ हुनुपर्छ भने ५ फिट २ इन्च उचाइ भएको व्यक्तिको तौल ५६ केजीदेखि ६० केजी हुनु आवश्यक छ।

‘५ फिट ३ इन्च उचाइ भएको व्यक्तिको तौल ५७ देखि ६१ केजी, ५ फिट ४ इन्च उचाइ भएको व्यक्तिको तौल ५८ देखि ६३ केजी, ५ फिट ५ इन्च उचाइ भएको व्यक्तिको तौल ६० देखि ६५ केजी हुनुपर्छ,’ पोषणविद् आचार्य भन्छिन्, ‘५ फिट ६ इन्च उचाइ भएको व्यक्तिको तौल ६१–६६ केजी, ५ फिट ७ इन्च उचाइ भए ६४–६९ केजी, ५ फिट ८ इन्च उचाइ भए ६५–७० केजी, ५ फिट ९ इन्च उचाइ भए ६७–७२ केजी, ६ फिट उचाइ भए ७३–७८ केजी हुनुपर्छ।’   

अति दुब्लोपन र अति मोटोपन हुनुका कारण

पोषणविद् आचार्यका अनुसार १८.५ भन्दा कम बिएमआई भएको व्यक्तिलाई दुब्लो मान्ने गरिन्छ। पौष्टिक आहारको कमी, समयसमयमा खानेकुरा नखाने बानी, डाइटिङ गरिरहेको अवस्था, कमजोर आर्थिक स्थिति, मानसिक तनाव आदि मानिसमा दुब्लोपना देखापर्नुका मुख्य कारण हुन्।

यसका अतिरिक्त मानिस आर्थिक रूपमा सबल भए पनि पौष्टिक तत्वका लागि के खाने, कसरी पकाउने भन्ने विषयमा ज्ञान हुन नसक्नु पनि दुब्लोपन या मोटोपनको समस्या बढ्दै जानुको कारण रहेको उनको भनाइ छ।

त्यस्तै घरमै पकाएको खाना कम र बाहिरको जंक फुड बढी खाने, तारेको खानेकुरा रुचाउने, रातो मासु धेरै खाने, शारीरिक व्यायाम नगर्ने कारणले पनि मोटोपनको समस्या बढ्दै जाने आचार्य बताउँछिन्।

‘पाचनशक्ति कमजोर भएको मानिसमा जति खाए पनि नलाग्ने र पाचन शक्ति बलियो भएको व्यक्तिमा थोरै खाए पनि लाग्ने गर्छ। त्यसैले कहिलेकाहीँ पानी मात्र पिए पनि शरीरमा लाग्ने गर्छ भन्ने कुरा हामी सुनिरहेका हुन्छौं, यो पाचनशक्ति बलियो भएकै कारण हुने हो,’ उनले भनिन्। 

अति दुब्लोपन र मोटोपनले स्वास्थ्यमा निम्त्याउने जटिलता 

अत्यधिक दुब्लोपना र अत्यधिक मोटोपन दुवैले स्वास्थ्यमा जटिलता ल्याउन सक्नेमा दुईमत नरहेको छाती रोग विशेषज्ञ डा. निरज बमको भनाइ छ।  अत्यधिक दुब्लोपनाले कमजोरी महसुस हुने, चक्कर लाग्ने, थकान महसुस हुने, थोरै काम गर्दा पनि थाक्नेजस्ता समस्या देखापर्ने उनी बताउँछन्।

niraj bam1676983553.jpg डा. निरज बम   

त्यस्तै अत्यधिक मोटोपनले दुब्लोपनाको तुलनामा स्वास्थ्यमा बढी जटिलता ल्याउन सक्ने उनको भनाइ छ। ‘मोटोपनको समस्या बढ्दै गए निद्रा नपुग्ने, थोरै हिँड्दा पनि थाक्ने, सुतेको समयमा घुर्ने समस्या बढ्दै जाने गर्छ,’ उनी भन्छन्, ‘अत्यधिक घुर्ने समस्या भए शरीरमा कोलेस्टेरलको मात्रा बढ्दै जाने,  सुगर, थाइराइड, प्रेसर र पक्षाघातको जोखिम बढ्ने गर्छ। अति मोटोपनले मानिसको सोच्न सक्ने क्षमतामा समेत प्रभाव पार्छ। पाचन प्रणालीमा असर गर्दै ग्यास्ट्रिक, कब्जियतजस्ता रोग पनि मोटोपनले बढाउने गर्छ।’    

मोटोपन बढ्न नदिन के गर्ने? 

अति मोटोपनले विभिन्न रोग निम्त्याउन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन डा. बम सुझाउँछन् । ‘मोटोपन कम गर्न चिल्लो अनि बोसो भएको माछामासु कम खाने, सन्तुलित खानामा जोड दिने गर्नुपर्छ,’ उनी भन्छन्, ‘हरियो सागपात, फलफूल पनि बढी खानुपर्छ।’

अत्यधिक रक्सी खाने, धूमपान गर्ने मानिस धेरै सुत्ने र घुर्ने भएकाले माटोपना बढ्ने उनको भनाइ छ। ‘त्यसकारण धूमपान र मध्यपानबाट टाढा रहने गर्नुपर्छ,’ उनले भने, ‘एकपटक धेरै खानेकुरा खानेभन्दा पनि थोरैथोर समयसमयमा खाने गरे, नियमित शारीरिक व्यायाम गरे मोटोपन कम गर्न सकिन्छ।’ 

त्यस्तै महिलाहरूमा पाठेघरको ट्युमर भए मोटोपनको समस्या बढ्दै जाने हुन्छ। त्यसकारण बेलाबेलामा पाठेघरको परीक्षण गर्नुपर्ने डा. बम बताउँछन्। दुब्लोपनाको समस्या क्षयरोग, एचआइभी, दीर्घरोगका कारण पनि हुन सक्ने भएकाले समयमै रोगको निदान गरी उपचार गराए र पोसिलो खानेकुरामा जोड दिए दुब्लोपनाको समस्याबाट बच्न सकिने डा. बमको भनाइ छ।
 

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्