मिर्गौला प्रत्यारोपणमा आर्थिक सहयोग गरी जीवन बचाइदिन गंगाबहादुरकाे अपिल
गंगाबहादुर थलिँदा उनकै भरमा चल्दै आएकाे परिवारकाे बिचल्ली भएको छ। मिर्गौला प्रत्यारोपण गरेर जीवन जाेगाउन सके घरपरिवारलाई सहारा दिने सोच बनाएकाे बिरामी गंगाबहादुरले बताए।
काठमाडौं, फागुन ८ : दुवै मिर्गौलाले काम गर्न छाडेपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) बाट सिफारिस भई हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा नियमित उपचार गराइरहेका गंगाबहादुर रानामगरलाई खर्च अभाव भएपछि उनको परिवारले परोपकारी महानुभावहरूसँग सहयोगका लागि अपिल गरेको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका-७ निवासी ४९ वर्षीय गंगाबहादुरको जीवनरक्षाका लागि तुरुन्त मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाए पनि घरको आर्थिक अवस्था नाजुक रहेका कारण परिवारले स्वदेश तथा विदेशमा रहेका परोपकारी महानुभावहरूसँग सहयोगका लागि अपिल गरेको हो।
स्वास्थ्यमा समस्या देखिएपछि बिपी प्रतिष्ठानमा उपचार गराउँदा दुवै मिर्गौला काम नलाग्ने भइसकेको पत्ता लागेको र जीवनरक्षाका लागि प्रत्यारोपण नै उत्तम विकल्प हुने सुझाव चिकित्सकहरूले दिएको गंगाबहादुरकी बहिनी मनु रानामगरले बताइन्। आफूसँग भएको अलिअलि रकम सकिएको र दैनिक डायलासिस, अन्य उपचार, औषधि खर्च शुभचिन्तककै सहयोगमा चलिरहेको उनले बताइन्। गंगाबहादुरलाई बचाउन उनकी श्रीमती सोनी रानामगरले मिर्गौला दिन लागेकी छन्। त्यसका लागि आवश्यक जाँच भइरहेको मनुले बताइन्।
सामान्य खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएका गंगाबहादुरले आफ्नो जीवन बचाइदिन सक्दो आर्थिक सहयोगका लागि सबै मनकारी महानुभावसँग आग्रह गरेका छन्। प्रत्यारोपणपछि पनि मिर्गौलाले सफल रूपमा काम गर्न औषधि खानुपर्ने र त्यस्ता औषधि महँगो हुने भएकाले बिरामीको परिवारमा चिन्ता छाएको छ।
चिकित्सकले आवश्यक तयारी गरेर प्रत्यारोपणका लागि तयारी अवस्थामा रहन सुझाएका छन्। नाजुक आर्थिक अवस्थाका कारण अन्य कुनै उपाय नभएपछि जीवन बचाउन सहयोगका लागि शुभेच्छुकसँग हात फैलाउनुको विकल्प नरहेको बिरामीकी बहिनी मनुले बताइन्।

मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरी जीवनरक्षा गर्न बिरामीको बसोबास रहेको महालक्ष्मी नगरपालिका, वडा कार्यालय र बिपी प्रतिष्ठानले समेत सिफारिस गरेको छ। बिरामीको जीवन बचाउन मानव धर्म सम्झेर देशविदेशमा रहेका शुभचिन्तकबाट खुला दिलले सहयोग प्राप्त भए पुनर्जीवन मिल्ने आशामा बिरामीको परिवार रहेको छ।
आफन्त र साथीभाइले थोरबहुत रकम जुटाइदिए पनि प्रत्यारोपणका बेला र त्यसपछि हुने खर्च टार्न मुस्किल हुने देखिएकाले परिवारले सहयोगको अपिल गरेको हो। सुनसरीको इटहरीमा बस्ने आफन्तजनले मीनबहादुर मेगाले मगरको अध्यक्षतामा एउटा समिति नै बनाएर रकम संकलन गरी हस्तान्तरण गरे पनि अपुग हुने देखिएको सोही समितिका कोषाध्यक्ष रवि मगरले जानकारी दिए। समितिले डायलासिसका क्रममा हुने खर्च जुटाइदिए पनि अब प्रत्यारोपणका बेला बढी नै खर्च हुने भएकाले समस्या भएको उनको भनाइ छ।
नियमित उपचार भक्तपुरमा गराउँदै आए पनि अन्यत्र पालो नपाइएकाले हाल उनको डायलासिस राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीमा भइरहेको बहिनी मनुले बताइन्। दुई छोरी र एक छोराका पिता गंगाबहादुरका वृद्ध आमा र श्रीमती छन्।
गंगाबहादुर थलिँदा उनकै भरमा चल्दै आएकाे परिवारकाे बिचल्ली भएको छ। मिर्गौला प्रत्यारोपण गरेर जीवन जाेगाउन सके घरपरिवारलाई सहारा दिने सोच बनाएकाे बिरामी गंगाबहादुरले बताए। ‘अहिलेसम्म ५-६ लाख रुपैयाँ खर्च भइसकेको छ,’ उनले भने, ‘अझै थुप्रै खर्च हुन्छ रे। आफूसँग भएको रकम सकियो, शुभचिन्तकलाई गुहार्नेबाहेक मेरो अरु केही बाटाे छैन।’
शुभेच्छुकले राष्ट्रिय वाणिज्य बैंक इटहरी शाखामा रहेको बिरामी गंगाबहादुरकै नाममा रहेको २५५०१०००५५०७३०१० खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ। अर्थात्, बिरामी गंगाबहादुरको मोबाइल नम्बर ९८२९३५७७३९ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने परिवारकाे भनाइ छ।












