६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण
भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ती दुवै कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे।
भक्तपुर, फागुन ८ : भक्तपुर नगरपालिकाले नगरपालिकाबाट सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत विद्यार्थीलाई रु ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ।
भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ती दुवै कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे।
उहाँले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताए।
भक्तपुर नपाबाट सञ्चालित विभिन्न आठ कलेजमार्फत वार्षिक रु चार करोड बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको जानकारी दिदै उनले नगरपालिकाले अन्य विभिन्न विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋणसमेत उपलब्ध गराउँदै आएको बताए।
भक्तपुर नपाले हाल आठ कलेज, छ शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि प्रयास जारी राखेको छ।
ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवालले निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजले इञ्जिनीयरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए।
नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेजका विद्यार्थीलाई रु ३२ लाख नौ सय र ख्वप कलेज अफ इञ्जिनीयरिङका विद्यार्थीलाई रु २९ लाख ३६ हजार गरी रु ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










