Kathmandu Press

मनाइयो निर्वाचन दिवस

मनाइयो निर्वाचन दिवस

काठमाडौं, फागुन ७ : ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाइएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचन खर्च कानूनबमोजिम विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गरे। प्रमुख आयुक्त थपलियाले भने, ‘आयोग निर्वाचन कानूनमा भएको व्यवस्थाअनुसार अघि बढ्छ, निर्वाचन कानूनको अवज्ञा क्षम्य हुँदैन।’

 उनले अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्ष भएका निर्वाचनमा आयोगले केही नीतिगत सुधार गरी नवीनतम अभ्यास गरेको उल्लेख गर्दै यसलाई निरन्तर जारी राख्दै निर्वाचन व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए। 

Hardik ivf

प्रमुख थपलियाले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको बताए। 

निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता र लैङ्गिक सहभागिताको विषय व्यापकरूपमा उठिरहेको हुँदा आयोगले यस विषयमा राजनीतिक दल, सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने प्रमुख आयुक्त थपलियाले बताए। मतदाता नामावलीको शुद्धीकरणका लागि आयोगको सूचना प्रविधि प्रणालीलाई परिष्कृत बनाउँदै लगिने उनको भनाइ थियो ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए। उक्त अवसरमा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका आयोगका कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा उपसचिव (कानून) लक्ष्मी शर्मा, लेखा अधिकृत  विष्णुप्रसाद न्यौपाने, कम्प्युटर इन्जिनियर अर्जुन पौडेल, नायब सुब्बा गोविन्दप्रसाद भट्टराई, नायब सुब्बा राजेन्द्र मरासिनी, कम्प्युटर अपरेटर सुमेश श्रेष्ठ, खरिदार  पूर्णकली थापा, हलुका सवारी चालक भीमबहादुर श्रेष्ठ, नायब सुब्बा श्री दिव्यधरी जोशी (भोजपुर), कम्प्युटर अपरेटर प्रेमप्रसाद न्यौपाने (झापा), हालुका सवारी चालक इन्दल हजरा दुसाद (बारा) रहेका छन्। 

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा (पर्सा), जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्की (चितवन), लेखापाल कृष्णप्रसाद पन्थी (भक्तपुर), नायब सुब्बा जिवाखर शर्मा (लमजुङ), कम्प्युटर अपरेटर अनन्त सुवेदी (मनाङ), कम्प्युटर अपरेटर गेहेन्द्र कुँवर (दाङ), नायब सुब्बा इन्दिरा अधिकारी आचार्य (रोल्पा), कम्प्युटर अपरेटर तेजेन्दकुमार चन्द (सल्यान), नायब सुब्बा श्यामबहादुर राना (हुम्ला), जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामी (दार्चुला) र कार्यालय सहयोगी टेकबहादुर चन्द (कैलाली) पनि पुरस्कृत भएका छन्। 

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्