Kathmandu Press

भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता हट्दै

भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता हट्दै

फिक्कल, फागुन ६ : केही समय अघिसम्म भारतीय सीमा क्षेत्र पशुपतिनगरका बासिन्दालाई आफ्नै जिल्लाको अर्को गाउँ पुग्न भारतीय भू-भाग भएर जानुपर्ने बाध्यता अब हट्ने भएको छ । 

इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरका बासिन्दा  मानेभञ्ज्याङ जान र त्यहाँका बासिन्दा पशुपतिनगरतिर आउन वर्खामा निकै कठिन थियो । हिउँदमा पनि डेढ किलोमिटर दूरीको गाउँ पुग्न भारतीय भूभाग घुमेर गाडीमा जाँदा करिब २ घण्टा लाग्थ्यो । तर अब त्यो बाध्यता भने हट्ने भएको छ । 

पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण सुरु भएपछि स्थानीयलाई सहज हुने भएको हो । पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि आवतजावतमा सहज हुनेछ ।

Hardik ivf

एक हजार दुई सय मिटरको यो सडक ढलान हुँदै गरेको डिभिजन सडक कार्यालयका कार्यालयका इञ्जिनियर सञ्जय गौतमले बताए । उनका अनुसार कालोपत्रेसम्मको काम रू तीन करोड ७१ लाखमा ठेक्का लागेको छ । 

'नेपाल–भारत सीमा क्षेत्रमै पर्ने यो सडक महत्वपूर्ण छ,' उनले भने, 'निर्माणको काम तोकिएको मितिमा सकिनेमा हामी ढुक्क छौँ । भगवती बौद्ध सोहिना जेभीले निर्माण ठेक्का लिएको छ ।' 

निर्माण असार २० मा काम सक्ने गरी गत चैत २० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर गौतमले जानकारी दिए । 

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले भौगोलिक रुपमा कठिन क्षेत्र भएकाले यहाँ सडक निर्माण गर्न थुप्रै चुनौतीको सामना गर्नुपरेको बताए । उनले भने, 'यहाँ वर्षौँदेखि सडकको अभाव थियो तत्काल समाधान गर्न कैयन प्रयास गरियो । अत्यन्तै कठिन भौगोलिक बनावटका बावजुत हामी सफल भएका छौँ ।' 

यहाँ सडक बनेपछि सर्वसाधारणले सामान्य काममा पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने प्रमुख राईको विश्वास छ । नेपालीले नेपालभित्रै पुग्न आफ्नै भूमि प्रयोग गर्न पाउनु स्वाभिमानको कुरा पनि हो । उनी भन्छन,  'नागरिकलाई मात्र होइन सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थामा असहज परिस्थिति थियो । सबैका लागि यो सडक अत्यावश्यक र महत्वपूर्ण हो ।'
    
आफूले उत्पादन गरेको तरकारी भारतीय बजारमा लगेर बिक्री गर्ने विषयमा केही समयअघि भारतीय सीमा सुरक्षा बल र स्थानीयबीच तनावसमेत भएको थियो । त्यसपछि भारतपट्टि तरकारी, दूधलगायत बेच्न बन्द भएको थियो भने स्थानीय उत्पादन नेपालतिरकै बजारमा ल्याएर बिक्री गर्न सडक सुविधा थिएन । नगरप्रमुख राईले पशुपतिनगरका सुरक्षाकर्मी काममा ड्युटीमा आफ्नै देशको मानेभञ्ज्याङ जानुपरे बर्दी लाएर, हतियार बोकेर जाने अवस्था नभएको स्थितिमा सडकले त्यो बाध्यतासमेत अन्त्य गर्ने बताए।

सूर्योदय नगरकै आग्रहमा सङ्घीय सरकारले बजेट व्यवस्था गरिदिएपछि यहाँ सडक निर्माण सम्भव भएको नगरको भनाइ छ । अब आन्तरिक पर्यटकलाई आफ्नै भूभागबाट प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौँ पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले बताएका छन।

प्रकाशित मिति: १९:४० बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्