काठमाडौं, फागुन ६ : गत मंसिर २ गते ३९ वर्षीया आरती रावल गिरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगिन्। उनी आफ्नै श्रीमान्विरुद्ध वैवाहिक बलात्कार, घरेलु हिंसाको उजुरी लिएर प्रहरीमा पुगेकी थिइन्। तर उनको उजुरी दर्ता गर्न प्रहरीले ठाडै अस्वीकार गरिदियो। कारण, उनका श्रीमान् कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश थिए।
न्यायाधीश भुवन गिरी र आरतीबीच पाँच वर्षअघि विवाह भएको थियो। जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि गिरीले आरतीसँग २०७५ असारमा आरतीसँग कानुनी विवाह गरेका थिए। आरतीका अनुसार उनले भुवनसँग स्वेच्छाले विवाह गरेकी थिइनन्। विवाहका लागि भुवनले दबाब र ब्ल्याकमेल गरेका थिए। विवाह पनि औपचारिक रूपमा भएको थिएन। ‘नागरिकता बनाउन जाँदा उनले नै विवाह दर्ता गरिदिए,’ आरतीले भनिन्।
आरती न्यायाधीश गिरीसँग विवाह गर्न तयार थिइनन्। मुद्दाकै क्रममा वर्ष दिनअघि चिनजान भएका गिरीको बानीबेहोरालाई आरतीले नजिकबाट नियालेकी थिइन्। आरती विवाहअघि नै न्यायाधीश गिरीबाट यौनशोषणमा परेकी थिइन्। मुद्दाकै क्रममा नजिकिएपछि आरती यौनशोषणमा मात्र परिनन्, न्यायाधीश भुवनले आरतीलाई अनावश्यक रूपमा नियन्त्रणमा राख्न थाले। ‘साथीभाइ र आफन्तसँग भेटघाट नगर, कतै नजा भन्न थाले,’ उनले भनिन्, ‘छाडेर गए आत्महत्या गरी मलाई र मेरो परिवारलाई फसाइदिने धम्की दिन्थे।’
आरती आफ्नो कारणले परिवारलाई फसाइदिने डरले चुपचाप बस्थिन्। आरतीको मौनताले भुवनलाई झनै हौसला थपिदियो। भुवनको यौनशोषण सहन नसकेर आरतीले विवाहअगाडि आत्महत्याको प्रयास गरिन्। भुवनको बानीबेहोरा चाल पाइसकेकी आरती उनीसँग नजिक हुन चाहन्नथिन्। तर भुवन आरतीलाई ब्ल्याकमेल गर्दै यौन चाहना पूरा गरिदिन बाध्य पार्थे। आरतीले सधैं भुवनले भनेअनुसार गर्नुपर्थ्याे। ‘जतिखेर जहाँ बोलाए त्यतिबेला जानुपर्थ्याे,’ आरतीले भनिन्, ‘ब्ल्याकमेल गरेर विवाह गर्न बाध्य बनायो।’
विवाहअघि नै भुवनको मानसिकता बुझिसकेकी आरतीले अन्य महिलाले झंैै विवाहपछिको सुन्दर भविष्यको कल्पना गरेकी थिइन्। किनकि, भुवनले आरतीलाई श्रीमती बनाउन होइन, यौनचाहना पूरा गर्न मात्र विवाह गरेको आरतीले चाल पाएकी थिइन्। ‘भुवन महिलालाई यौनचाहना मेटाउने वस्तु ठान्थे,’ आरतीले भनिन्, ‘भुवनले यौन चाहना मेटाउँदा आफ्नो इज्जतमा धब्बा नलागोस् भनेर कानुनी विवाह गरेका हुन्।’
भुवनको ब्ल्याकमेल र यौनशोषणबारे आरती आवाज उठाउन सक्दिनथिन्। आरतीले आवाज उठाए उनका परिवारलाई कुनै गैरकानुनी काममा फसाइदिने धम्की भुवनले दिएका थिए। भुवन २०७४-७५ सालमा नेपालगन्ज पुनरावेदन अदालतका निमित्त रजिस्ट्रार थिए। अदालतका रजिस्ट्रार गिरीविरुद्ध आवाज उठाउँदा साथसहयोग दिने आरतीको कोही थिएनन् त्यतिबेला।
बाध्यात्मक विवाहपछि आरतीले थप पीडा र यातना सहनुपर्यो। आरतीको इच्छाचाहनाको भुवनलाई कुनै कदर नै थिएन। भुवन आफ्नो यौनचाहना मेटाउने प्रयास मात्र गर्थे। ‘महिनावारी होस् वा बिरामी, भुवनले जबर्जस्ती यौनसम्बन्ध राख्थे,’ आरतीले भनिन्, ‘प्रतिकार गरे कुटपिट गरी बन्धक बनाउँथे।’
आरती भुवनका लागि यौनचाहना मेटाउने सामग्रीजस्ती भएकी थिइन्। जबर्जस्ती हुने यौन सम्बन्धको पीडा भुवनले कहिल्यै बुझेनन्। भुवनले आरतीलाई यौनशोषण मात्र गरेनन्, आरतीको आमा बन्ने अधिकार पनि भुवनले खोसे। ‘इच्छाविपरीत न्यायाधीश गिरीले २०७५ सालमा उनको गर्भको भ्रूण हत्या भयो। २०७६ सालमा कुटपिट गर्दा गर्भ तुहियो,’ आरतीले भनिन्।
विवाहित महिलालाई मातृत्वको अधिकार हुन्छ, आमा बन्ने चाहना हुन्छ। तर आरतीले त्यो अवसर पाइनन्। ‘भुवन यौनचाहना मेटाउन मात्र खोज्थे,’ भुवनले सधैं आरतीलाई भन्थे, ‘तलाईं मैले यौनचाहना मेटाउन श्रीमतीका रूपमा भित्राएको हुँ, छोराछोरी, श्रीमती मेरो घरमा छन्।’ आरती गिरीकी दोस्री श्रीमती हुन्।
आमा बन्न नपाएको पीडाले आरतीलाई सताउन थाल्यो। आमा बन्ने इच्छा व्यक्त गर्दा उनले भुवनबाट शारीरिक र मानसिक यातना सहनुपर्थ्याे। त्यही कारण आरती २०७६ सालमा धनगढी जिल्ला प्रहरीकोमा न्याय माग्न पुगेकी थिइन्। दुई वर्षमा नेपालगन्जबाट दिपायल हुँदै धनगढी जिल्ला अदालत पुगेका थिए, भुवन। भुवनको जुनजुन ठाउँमा सरुवा हुन्थ्यो, त्यहाँ आरतीले पनि जानुपर्थ्याे।
कुटपिटबाट भ्रूण हत्या हुँदा भुवन र आरती धनगढीमा बस्थे। भुवनले भ्रूण हत्या गरी मातृत्वको अधिकारबाट वञ्चित गराएको उजुरी लिएर उनी धनगढी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्। प्रहरीकोमा उजुरी दिएको थाहा पाएपछि आफ्ना कर्मचारी परिचालन गरेर कागज ‘हेराफेरी’ गरी भुवनले उजुरी फिर्ता गराए।
आरतीले दिएको उजुरी फिर्ता गराइसकेपछि भुवनले उनलाई शारीरिक र मानसिक यातना दिन थाले। आरतीलाई न्यायाधीश गिरीले बाहिर हिँडडुल गर्न रोक लगाए। कैदीलाई जस्तै आरतीलाई बन्द कोठामा थुनेर राख्न थाले। ‘आफ्नो कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिन्थे,’ आरतीले भनिन्।
धनगढीबाट २०७६ माघमा भुवनको काठमाडौं सर्वाेच्च अदालतमा सरुवा भयो। आरती र भुवन मैतीदेवीमा कोठा बसे। जहाँ गए पनि भुवनले कुटपिट गर्न र यौनशोषण गर्न छाडेनन्। आरतीको जिन्दगी भुवन नियन्त्रणमा थियो।
२०७८ फागुनमा भएको जिल्ला न्यायाधीशको परीक्षामा गिरी उत्तीर्ण भए। २०७९ असारमा कपिलवस्तु जिल्ला अदालतमा न्यायाधीश बने। अदालतमा हाजिरी गर्न असार ६ गते भुवन कपिलवस्तु पुगे। उनले आरतीलाई पनि सँगै लगे।
आरतीको आग्रहमा २०७९ को कात्तिकमा तिहार मनाउन आरती माइती गएकी थिइन्। आरतीको माइती नेपालगन्ज हो। माइतीघरबाट आरती फर्किन चाहन्नथिन्। भुवनले पटकपटक फोन गरेर फर्किन भनेपछि कात्तिक १७ गते फर्किन्। ‘माइती बस्दा समाजले विभिन्न प्रश्न गर्छन्,’ उनले भनिन्, ‘त्यही कारणले पनि फर्किएँ।’
माइतीबाट फर्किएपछि कात्तिक १७ गते भुवनले आरती फेरि कुटपिट गरे। त्यसको भोलिपल्ट १८ गते आफूलाई जबर्जस्ती गरेको आरतीले बताइन् । ‘त्यो दिन यौनांगबाट रगत बगेको थियो। त्यस्तो हुँदा पनि भुवनले मलाई छाडेनन्,’ उनले भनिन्, ‘रगत लागेको कपडा भुवन आफैले धोए।’
आरती यौनपिपासु भुवनको यौनशोषणबाट बच्न जिल्ला अदालत जाने अठोट गरिन्। भुवनको आँखा छलेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगिन्। त्यहाँ आरतीले प्रहरीलाई आफू वैवाहिक यौन शोषणमा परेको कुरा मात्र सुनाइनन्, आफ्नो शरीर परीक्षण गरी भुवनविरुद्ध निवेदन दर्ता गराई वैवाहिक बलात्कारको मुद्दा चलाउनसमेत आग्रह गरिन्।तर प्रहरीले न्यायाधीश भुवनलाई बोलाएर डरधम्की देखाउँदै मिलापत्र गर्न बाध्य बनायो। ‘घर फर्किएपछि भुवनले न्यायाधीशलाई प्रहरीसामु उभ्याएको भन्दै उल्टै कुटपिट गरे,’ आरतीले भनिन्।
प्रहरीमा गएर फर्किएपछि भुवनले आरतीलाई थप पीडा र धम्की दिन थाले। ‘फेरि प्रहरीमा गइस् भने तँलाई मारिदिन्छु र तेरो परिवारलाई फसाइदिन्छु’ भन्दै धम्की दिएको आरतीले बताइन्। परिवारको सुरक्षाका लागि जस्तोसुकै यौनपीडा आरतीले सहिन्। आरतीलाई पनि अब भुवनको कैदबाट उम्किन नसक्ने डर भइसकेको थियो।
मंसिर १ गते आरतीले झन्डै ज्यान गुमाउनुपरेको थियो। ‘त्यो दिन भुवनले यौनशोषण र कुटपिट मात्र गरेनन्, सलले घाँटी कसेर मार्ने कोसिससमेत गरे।’
ज्यानसमेत लिन उद्यत् भुवनको अत्याचार सहन नसकेर आरती मंसिर २ गते कोठाबाट भागिन्। कपिलवस्तुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि आरती काठमाडौं आइन्। आरतीले निवदेन दिएसँगै न्यायाधीश गिरीले उनलाई चोरीको उजुरी जाहेरी दिएका छन्। आरती र भुवन दुवैको उजुरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दर्ता हुन सकेको छैन।
आरती भागेपछि भुवनले मानिसहरू परिचालन गरेर खोजिरहेका छन्। भुवनको नम्बर ब्ल्यकलिस्टमा राखे पनि अरूलाई फोन गर्न लगाएर धम्की दिइरहेका छन्। तर आरतीले पछि नहट्ने अठोट लिएकी छन्। आरतीले चार वर्ष भोगेको वैवाहिक बलात्कारविरुद्ध न्यायाधीश भुवनलाई सजाय दिलाउन चाहन्छिन्। आरती अहिले कपिलवस्तुमा मुद्दा दर्ता गराउन विभिन्न कार्यालयमा समस्या सुनाउँदै हिँडिरहेकी छन्। सोही क्रममा सोमबार काठमाडौं प्रेस आइपुगेकी थिइन्।
आरतीले मंसिर ८ गते राष्ट्रिय महिला आयोग, मानवअधिकार आयोगसँगै कपिलवस्तु जिल्ला प्रहरीले उजुरी नलिएको भन्दै प्रहरी प्रधान कार्यालय काठमाडौंमा निवेदन पेस गरेकी छन्। तर त्यहाँ पनि अहिलेसम्म उनको उजुरी दर्ता भएको छैन।
‘श्रीमतीको छाप लगाएर वैवाहिक बलात्कार, यौनशोषण गर्दै मानसिक रूपमा बन्धक बनाउनेलाई सरकारले कानुनी कारबाही गर्नुपर्छ,’ आरती भन्छिन्, ‘अन्याय हुँदा कानुनी लडाइँ लड्न पाउने मेरो अधिकार हो, त्यसलाई नरोकियोस्।’
उनी आफ्नो मुद्दा दर्ता गराई कानुनी लडाइँको बाटो खोलिदिन सरकारलाई आग्रह गरिरहेकी छन्। तीन महिनादेखि न्याय खोज्न आरती विभिन्न संघसंस्था गइरहेकी छन्। तर पनि उनको उजुरी दर्ता हुन सकेको छैन।