Kathmandu Press

मुलुकको समस्या सबै दल मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

मुलुकको समस्या सबै दल मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

झापा, फागुन ५ : उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन। आज मेचीनगरको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको नवाैँ पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रममा उनले देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले राजनीतिक दलहरुले मिलेर यो समस्याको सामना गर्नुको विकल्प नभएको बताए ।

उपप्रधानमन्त्री लिङ्देनले कुनै पनि राजनीतिक दललाई मात्र जनताले विश्वास गरेर मत नदिएको बताउँदै भने, 'हामीलाई मिलेर काम गर्ने जनताले जनादेश दिएका छन् । एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन ।'

Hardik ivf

उनले सरकारमा बैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताए । 

उपप्रधानमन्त्री लिङ्देनले भने, 'विकासलाई तीव्रता, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त र दुरुस्त बनाएर मुलुकलाई अप्ठ्यारोबाट सहज बनाउन प्रयत्नरत छौँ ।'

उनले नेपालका ठूला विद्युत् परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामबारे केही दिनभित्रैमा सार्वजनिक गर्ने बताए । उनले प्राधिकरणको सेयर अब नेपाली जनतालाई नै दिने र सकेसम्म विदेशी भूमिमा रहेका युवालाई समेटेर प्राधिकरणको मालिक बनाउने योजना अघि सारिएको बताए ।
 
उनले अब नेपाली जनताले विद्युत्को खपत बढाउनुपर्ने बताउँदै भने, 'आपत्कालीन अवस्थाबाहेक एलपी ग्यासमा होइन, विद्युतीय चुलोको प्रयोग गरेर खाना पकाउनुपर्छ । यसो गरेमा आधा खर्च घट्छ ।' उनले स्थानीय पालिकाले जनताले चलाएका उद्योगधन्दामा प्रोत्साहन गरेमा ट्रान्समिटर र तार जडानमा प्राधिकरणले सहयोग गर्नेसमेत जानकारी गराए।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं १ का अध्यक्ष टीका ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले उद्योगी व्यवसायीका समस्या सडकमा आन्दोलन नगरी र टायर नबाली सुनुवाइ नहुने गुनासो गरे।

प्रकाशित मिति: २०:५३ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्