Kathmandu Press

ल्होत्से मल तोडफोड र लुटपाटमा चालक र सहचालक नै संलग्न, १५ जना पक्राउ 

पक्राउ परेका मध्ये ७ जना महानगर यातायातका चालक र सहचालक छन् । अन्य केही बाइसधारा यातायात र तारकेश्वर यातायातका चालक र सहचालक रहेको एसएसपी केसीले जानकारी दिए । 
ल्होत्से मल तोडफोड र लुटपाटमा चालक र सहचालक नै संलग्न, १५ जना पक्राउ 

काठमाडौं, फागुन ४ : माछापोखरीको ल्होत्से मल तोडफोड र लुटपाटमा सार्वजनिक यातायातका सवारी चालक र सहचालक नै संलग्न रहेको पाइएको छ । सोमबार यातायात व्यवसायीको आन्दोलन प्रहरीको नियन्त्रणबाहिर गएपछि त्यसको फाइदा उठाउँदै ल्होत्से मल तोडफोड गरी करोडौं मूल्य बराबरको मोबाइल चोरी भएको थियो । 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी मनोज केसीका अनुसार सिसीटिभी फुटेज र फोटो, भिडियोलाई आधार मानेर घटनामा संलग्न १५ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका मध्य ७ जना महानगर यातायातका चालक र सहचालक छन् । अन्य केही बाइसधारा यातायात र तारकेश्वर यातायातका चालक र सहचालक रहेको एसएसपी केसीले जानकारी दिए । 

प्रहरीले लुटपाटमा संलग्न चार जनालाई सोही दिन पक्राउ गरेको थियो । लुटपाट गर्न आएका चार जनालाई मलका सुरक्षागार्डले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो ।  लुटपाटमा संलग्न मुख्यमुख्य व्यक्तिलाई पक्राउ गरिएको र अन्य निगरानीमै रहेको एसएसपी केसीले बताए ।  

यातायात मजदुरहरुले दस बुँदे माग राख्दै सोमबार आन्दोलन गरेका थिए । शान्तिपूर्ण भनिएको आन्दोलनले अपराह्नसम्म उग्र रुप लिएको थियो । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । साँझ आन्दोलनकारीहरुले प्रहरीको भ्यान र अस्थायी पोस्टमा आगजनी गरेका थिए । 

परिस्थिती प्रहरीको नियन्त्रणबाहिर गएपछि साँझ केही समूह ल्होत्से मलको मूल गेटमा तोडफोड गरी मोबाइल पसलमा प्रवेश गरेका थिए । उनीहरुले पसलमा भएका सबै मोबाइल भीडतर्फ फ्याँकिदिएका थिए भने आफूले पनि लगेका थिए। 

आगजनी र लुटपाटको घटना अनुसन्धान प्रहरीले डीआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

 
 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्