मैदानमा झगडा गर्ने मछिन्द्र र मनाङका खेलाडीमाथि प्रतिबन्ध
काठमाडौं, पुस २५ : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्यांदी क्लबका खेलाडीमाथि प्रतिबन्ध ल....

काठमाडौं, पुस २५ : मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्यांदी क्लबका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ।
एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका ६ खेलाडीलाई कारबाही गरेको हो। मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच–पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ।
त्यस्तै, मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई–दुई खेलमा प्रतिबन्ध लगाइएको छ। जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना पनि गरिएको एन्फाले जनाएको छ।
मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यसैगरी आआफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ।
डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए। खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रङ्गशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए।
यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो । उनीहरुलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नुपरेको थियो।











