‘अबो त यी चाडबाड पनि नआए हुन्थ्यो’
महोत्तरी, पुस २५ : चडपर्वले छोपेपछि गरिब बस्तीमा चिन्ता पस्छ। खासगरी पराले झुप्रा बस्तीका मुसहरलाई छाक टार्न गाह्रो हुने भएपछि पर्व आउँदा चिन्ता नै थप....
महोत्तरी, पुस २५ : चडपर्वले छोपेपछि गरिब बस्तीमा चिन्ता पस्छ। खासगरी पराले झुप्रा बस्तीका मुसहरलाई छाक टार्न गाह्रो हुने भएपछि पर्व आउँदा चिन्ता नै थपिन्छ।
चाडबाड आएको छनक पाएपछि झुप्रामा नानीहरुको फुर्ति बढ्छ भने चाडपर्वका सामान बजारको महँगीले जोड्न नसक्दा घरका मुख्य अभिभावक भने रनभूल्ल पर्छन्। मध्यपूर्वी तराईमा ‘तिलासङ्क्रान्त’ भनिने माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य समानको भाउ आकासिएको छ।
महोत्तरीसहितका मध्यपूर्वी तराईको मिथिला क्षेत्रमा यो पर्वमा अनिवार्य मानिने तिल र सक्खर (मिठ्ठा)सहितका आवश्यक सामानको मूल्य आकासिएपछि बनिबुतो (कृषि ज्याला) गरेर जीवनयापन गर्ने गरिब बस्तीमा चिन्ता बढेको हो। महोत्तरीका बजारमा अहिले तिलको मूल्य प्रतिकिलो चार सय रुपैयाँ छ।
त्यस्तै, सक्खरको मूल्य पनि प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ। गत वर्ष यो पर्वताका तिल २५० र सक्खर ६५ प्रतिकिलो पाइएको सर्वसाधारण उपभोक्ता सम्झन्छन्, तर यसपालि तिला सङ्क्रान्त पर्वमा अनिवार्य मानिने तिल र सक्खरको मूल्य आकासिएपछि आफूजस्ता गरिबले पर्व मान्ने कुरा हराएको जिल्लाकै बलवा नगरपालिका–१० भगवतीपुरको मुसहरी टोलका उत्तिम सादाले बताइन्। ‘अबो त यी चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्न थाल्यो,’ ६० वर्षीय उत्तिमले भनिन्।
मिथिलामा यो पर्व विशेषमा तिलका (लड्डु) भुटेर छाँटिएको तिललाई फत्काइएको सक्खर (खुँदो)मा मिसाएर बनाइने विशेष परिकार अनिवार्य मानिन्छ। पर्वका दिन तिलकालाई नै कूलदेवतालाई अर्पण गर्ने मैथिल परम्परा भएकाले यी सामानको आकासिँदो मूल्यले गरिबलाई पर्व मनाउन सकस परेको हो।
‘के गर्नु? कुनै सामान सोधिसक्नु छैन, अनि हामीलाई के गरी आउनु चाडपर्व?’ भङ्गाहा नगरपालिका–२ को सिङ्ग्याहीहटिया (साप्ताहिक बजार)बाट फर्किँदै गरेका भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सादाले भनिन्, ‘अब पनि भगवान् भरोसे नै छाडियो।’
पर्वका सामानमा तिल र सक्खरसँगै कन्दमूल (सुठुनी, तरुल र सखरखण्ड आदि) र मुरी (विशेष प्रकारको चामल भुटेर बनाइने भुजा) र चिउराको मूल्य पनि बढेको छ।
पुस मध्यसम्मको दुई साता लामो शीतलहर र त्यसयताको वर्षा र चिसोले काममा जान नपाएर बेगारी बन्नुपरेकै बेला पर्व टार्ने चटारोले गरिब बस्तीमा बेचैनी बढेको हो।
दैनिक ज्यालादारी गरेर पेट पाल्नुपर्ने आफूहरुलाई यी चाडपर्व नै नआउन् जस्तो लाग्ने गरेको औरही नगरपालिकाको टिम्कीयास्थित दलित बस्तीकी भुठ्ठी सादा बताइन। ‘के गरौँ, साना लालाबाला छन्, नजिकै गिरहत (आफूले काम गर्ने घरमूली)का घरमा पर्वको चहलपहल छ,’ उनले भनिन्, ‘हाम्रा नानीले आफू गरिब भएको बुझेका छैनन्, गिरहतका नानीहरुको सिको गर्न खोज्छन्।’
अहिले पर्वले छोप्दै जाँदा पराले झुप्रामा बस्ने दलित मात्र नभएर गरिब किसानलाई पनि टार्न पु¥याउन धौधौ परेको छ। यो पर्वमा मात्र नभएर अन्य खासखास पर्वमा पनि उपभोग्य सामग्रीको मूल्य व्यापारीले भनेकै मूल्यमा लिन सर्वसाधारण उपभोक्ता विवश छन्।
प्रशासनिक निकाय र जनप्रतिनिधिमूलक निकायले बजार अनुगमन नगरिदिँदा आफूहरु चर्को मूल्य मात्र नभएर सामानको गुणस्तरमा पनि ठगिने गरेको उपभोक्ताको गुनासो छ।(रासस)