बोटबाटै दुई करोडको सुन्तला बिक्री

म्याग्दी, माघ २९ : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै दुई करोडको सुन्तला बिक्री भएको छ ।
सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको एक किसानले बताएका छन् ।
दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला बिक्री गरेर गाउँमा ७५ लाख भित्रिएको थियो । ‘यसवर्ष पाक्दै गरेको सुन्तला पोखरा, चितवन र काठमाडौँका व्यापारीले बगैँचाबाट नै प्रतिकिलो ९५ मा किनेका हुन्,’ उनले भने।
दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको जानकारी दिए ।‘यसवर्ष दुई सय नयाँ बोटमा फल लागेकाले उत्पादन पनि राम्रो भएको छ । दुई करोडको हाराहारीमा सुन्तला बिक्री भएको छ,’ अध्यक्ष पाइजाले भने।
उनका अनुसार एक किसानले ५० हजारदेखि दुई लाख ३० हजारसम्मके सुन्तला बिक्री गरेका छन् । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो।
परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताए। ‘तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको छ,’ उनले भने । दश वर्षअघि गर्बुजाले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु गरेका थिए। सडक, यातायातको सुविधा भएपछि बाँझो पाखोबारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उनको भनाइ थियो ।
भिरालो पाखोमा अवस्थित यहाँको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताइन्। म्याग्दीका छ वटा स्थानीय तहका १४ वटा गाउँमा व्यावसायिक सुन्तला खेती गरिन्छ । जिल्लाभरीमा यसवर्ष २० करोड भित्रिएको केन्द्रले जनाएको छ।












