अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौं, माघ २९ : नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने २३औँ महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार, गुणस्तरिय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार बन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको बताए ।
करिव १५ सय ७३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशनले आगामी दुई बर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रयि कमिटी, १७ पदाधिकारी, ३ आयोग निर्वाचित गर्ने बरालले जानकारी दिए। उनले नेतृत्व चयन सहमतिमा नहुदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने र निर्वाचन प्रक्रियालाई व्यवस्थीत, छिटो छरितो बनाउन विद्युतिय मेसिन मार्फत निर्वाचन गर्ने व्यवस्था मिलाइएको बताए।
अनेरास्ववियुको महाधिवेशन करिव ७ बर्षपछि हुन लागेको हो । महाधिवेशनपछि संगठनको ध्यान स्ववियु निर्वाचनमा केन्द्रीत हुने अनेरास्ववियुले जनाएको छ ।












