८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो
सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो।
सोलुखुम्बु, माघ २८ : सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो।
सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो।
नदी प्रवाहमा आधारित विद्युत् आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ।
साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो। आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ।
परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताए।
वि.सं २०७२ को असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सिएमसिदि रिभेन्नाले पाएको थियो ।
केन्द्रीय प्रसारण लाइन जोडिएसँगै अबको १५ दिनभित्र व्यावसायिक उत्पादन गरिनेछ। यसअघि सोलुखोलामै निर्माण भएको २३ दशमलव पाँच मेगावाट क्षमताको अपर सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
सोलुखोलामा अझै एक सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजना निर्माणको क्रममा छन् .।












