Kathmandu Press

तरकारी खेतीबाटै मासिक ६ लाख कमाउँछन् मोरङका मोहनलाल

तरकारी खेतीबाटै मासिक ६ लाख कमाउँछन् मोरङका मोहनलाल

सुन्दरहरैँचा, माघ २७ : मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठ  २५ वर्षदेखि  व्यावसायिक तरकारी खेतीमा सक्रिय छन् । 

पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मिकएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि गरिरहेका छन्। उनले कृषि विकास बैंकबाट ६० हजार ऋण लिएर तरकारी खेती सुरू गरेका थिए। एक बिघा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका मोहनलालले अहिले यसै पेसाबाट सम्पूर्ण खर्च कटाएर वार्षिकरूपमा रू छ लाखसम्म आम्दानी गरिरहेका छन्। ‘वर्षभरिमा करिब एक हजार स्थानीय कामदारलाई तरकारी खेतीबाट रोजगारीसमेत दिँदै आएको छु,’ मोहनलालले भने, ‘कृषि पेसाअन्तर्गत तरकारी खेती हाम्रो परिवारका लागि आम्दानीको राम्रो स्रोत भएको छ।’

Hardik ivf

हिउँदे र बर्खे यामअनुसारको तरकारी खेती गर्दै आउनुभएका मोहनलालको बारीमा अहिले लटरम्म उन्नत जातको गोलभेँडा, काउली र बन्दागोभी देख्न सकिन्छ । ‘केही आफ्नो र बाँकी भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएको छु मोहनलालले भन्नुभयो, ‘‘सिजन अनुकूल गोलभेँडा खेतीसँगै काउली, बन्दा, काँक्रा, लौका, फर्सी, धनियाँलगायत रायोसागसमेत लगाएर राम्रै आम्दानी गरेको छु,’ उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्। 

अहिले उनलाई तरकारी खेतीमा छोरा कृष्णकुमारले पनि सहयोग गरेका छन्। तरकारी बिक्री गरेरै आफूले १५ कट्ठा जग्गासमेत जोड्न सफल भएको मोहनलालले बताए। उनले तरकारी खेतीसँगै गाई फार्म सञ्चालन तथा खसी र बाखापालनसमेत गरेका छन्। तरकारी खेतीसँगै गरेको गाईपालनबाट दैनिक २० लिटर दूधसमेत बिक्री गर्ने गर्छन्। बायोग्यास जडान गरेपछि भान्छामा खाना पकाउन ग्यासको सुविधा भएको छ भने लेदोमलले खेतबारीमा राम्रो अन्न तथा तरकारी खेती पनि राम्रो भएको उनी बताउँछन्। 

तरकारी खेतीमा अहिलेसम्म कुनै सरकारी निकायबाट प्रोत्साहन नपाए पनि युवा लक्षित स्वरोजगार कार्यक्रमबाट चार वर्षअघि रु ६० हजार प्राप्त गरेको मोहनलालका छोरा कृष्णलालले बताए। चर्को व्याजमा ऋण गरी  विदेशी भूमिमा तातो घामपानी सहँदै पराईको नोकर भएर काम गर्नुभन्दा आफ्नै स्वदेशमा कृषि पेशाबाटै मनग्गे आम्दानी गर्न सकिने कृष्णलाल बताउँछन्। मलेसियामा तीन वर्षसम्म रोजगारीका लागि बसेर गाउँ फर्किएपछि अहिले बुबासँगै व्यावसायिक तरकारी खेतीतर्फ क्रियाशील भएको उनको भनाइ छ । 

तरकारी बिक्री गरेको आम्दानीबाट मोहनलालले आफ्ना छ छोराछोरीको लालनपालन र पढाइको खर्च जुटाएका थिए । तरकारीको बजारको समस्या नभएको बताउँदै मोहनलाल भन्छन्, ‘तरकारीको अति राम्रो बजार भाउ छ । उत्पादन गरेको तरकारी नबिक्ला कि भन्ने चिन्ता छैन । मागअनुसार उत्पादन गर्न सकिएको छैन ।’ तरकारी खेती र पशुपालनलाई अझै बढाउँदै लैजाने उनको योजना छ ।  

खेतीपातीका लागि विविध कुरा बुझेर अनुभव हासिल गरी मेहनतका साथमा अघि बढ्दा राम्रो फाइदा हुने उनको अनुभव रहेको छ । कहिलेकाहीँ घामपानी नमिल्दा तरकारी खेतीमा घाटासमेत हुने भएकाले एकपटक भएको घाटाबाट निराश हुन नहुने उनको सुझाव छ । स्थानीय सरकारले कृषि पेसालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको मोहनलाल बताउँछन्। उनी भन्छन्, ‘व्यावसायिक उत्पादनमा लाग्न खोज्ने कृषकका लागि सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्न जरुरी रहेको छ।’ बेमौसमी तरकारी खेतीका लागि प्रोत्साहन हुनसके तरकारीमा देशलाई नै आत्मनिर्भर गर्न सकिने उनको भनाइ छ। 

प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्