Kathmandu Press

एमाले नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा, मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना

मुख्यमन्त्री राजेन्द्र रावलले आज राति १२ बजेभित्र विश्वासको मत नलिए वा नपाए उनी नेतृत्वको सरकार ढल्ने छ ।
एमाले नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा, मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना

काठमाडौं, माघ २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन् । यसअनुसार मुख्यमन्त्री रावलले प्रदेशसभाबाट विश्वासको मत लिने आज अन्तिम दिन हो। 

मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यहाँ निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले   विश्वासको मत दिन अस्वीकार गरेपछि प्रदेश सभा बैठक नै स्थगित गरिएको थियो । 

एमाले नेतृत्वको सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार रावल पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा उनलाई एमाले,माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो । तर, विश्वासको मत दिने समयमा नागरिक उन्मुक्ति पार्टी पछि हटेपछि एमाले नेतृत्वको प्रदेश सरकारमाथि संकट मढारिएको हो ।

Hardik ivf

किन पछि हट्यो नाउपा ? 

नागरिक उन्मुक्ति पार्टीले केन्द्रकै निर्देशनमा सुदूरपश्चिम सरकालाई विश्वासको मत नदिने निर्णय गरेको हो । नाउपाकी अध्यक्ष रञ्जिता चौधरीले आफूहरुको माग पूरा नहुने अवस्था देखिएकाले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णयमा पुगेको बताएकी छन् ।

मंसिर ४ को निर्वाचनमा जाँदा नै नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई मुख्य एजेन्डा बनाएको थियो । एमाले नेतृत्वको गठबन्धनमा सहभागी हुन नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख सर्त बनाएको थियो। 
 
चौधरीलाई रिहा गर्नुपर्ने मागप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएपछि नाउपाले सरकारलाई समर्थन दिएको थियो । 

सरकार बनेपछि भने प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धताअनुसार काम नगरेको नाउपाको गुनासो छ । त्यसकै प्रतिवादमा आफू निर्णायक शक्ति रहेको सुदूरपश्चिम प्रदेशमा गठबन्धनको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।  

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्र्रेस १९ सिटसहित सबैभन्दा ठूलो दल कायम छ । यहाँ नेकपा माअ‍ोवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् । 

एमालेको नेतृत्वमा सरकार गठन हुँदा नागरिक उन्मुक्ति पार्टीसहित २९ सांसदको समर्थन पाएका मुख्यमन्त्री रावल विश्वासको मत लिने बेला अल्पमतमा परेका छन् । उनको सरकार जोगिन कम्तिमा २७ सांसदले विश्वासको मत दिनुपर्ने हुन्छ । तर, नाउपा पछि हटेपछि मुख्यमन्त्रीको पक्षमा २२ सांसद मात्र रहने भएपछि एमाले नेतृत्वको सरकार संकटमा परेको हो । 

नाउपालाई फकाउन एमालेले लगातार छलफल गर्दै आएपनि परिणाम शून्य देखिएको छ । आज बिहान बसेको छलफलमा पनि नाउपा सहमतिमा नआएपछि दिउँसो १ बजेलाई बोलाइएको प्रदेशसभा बैठक साँझ ५ बजेका लागि सारिएको छ । अध्यक्ष श्रेष्ठको भनाइअनुसार नागरिक उन्मुक्तिले विश्वासको मत नदिए रावल स्वतः पदमुक्त हुनेछन् । 

मुख्यमन्त्री रावलले आज राति १२ बजेभित्र विश्वासको मत नलिए वा नपाए उनी नेतृत्वको सरकार ढल्ने छ । त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । 

सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह संसदीय दलका नेता हुन् । सुदूरपश्चिममा बदलिएको राजनीतिक परिस्थितिका बीच उनी मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । ठूलो दलको हैसियतले नियुक्त भएको मुख्यमन्त्रीले पनि एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । सुदूरपश्चिममा कांग्रेसलाई विश्वासको मत जुटाउन सहज पनि देखिन्छ । 

  
 

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्