Kathmandu Press

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य

बत्ती जडानको लागि पहिलोपटक २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो।
अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य

काठमाडौं, माघ २५ : सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्यमुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ। बत्ती जडानको लागि पहिलोपटक २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो।

यस अघि मुख्य विषय स्मार्ट सडक बत्ती जडान गर्ने सम्बन्धमा सम्झौता भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान तथा त्यसको मर्मतसम्भार कस्ले गर्ने र बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न सकेको थिएन।

केही दिनअघि ती सबै विषयमा पुनः सम्झौता भएपछि बत्ती जडानको काम अघि बढेको हो। कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार अलमल भएका तथा कुरा नमिलेका विषयमा पनि थप सहमति भई सम्झौता भइसकेकाले बत्ती जडानको काम अघि बढ्ने भएको हो।   

Hardik ivf

बत्ती जडान गर्न रु ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ लागत अनुमान गरिएको छ। जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन्। रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो।

स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको विभागका प्रमुख थापाको भनाइ छ।   

लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामङ्गल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमल पोखरी र चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन्। 

यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्की, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरी बत्ती जडान हुनेछन्। 

जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि कामपालाई हस्तान्तरण गरिनेछ। सडक बत्ती प्रयोग भएबापत्को शुल्क कामपाले प्राधिकरणलाई बुझाउनेछ। कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ।

बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ। उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीले भन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ।

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्