Kathmandu Press

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रङ्रोगन र मर्मत सम्भार सुरु

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रङ्रोगन र मर्मत सम्भार सुरु

काठमाडाैं, माघ २४ : महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरमा रङरोगन र मर्मतसम्भार सुरु गरिएको छ । 

महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइ पनि सुरु गर्न लागिएको छ । पशुपति क्षेत्रमा वर्ष भरमा मनाइने पर्वमध्ये महाशिवरात्रि महत्वपूर्ण पर्व हो । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

Hardik ivf

मूल समारोह समितिअन्तर्गत गठन भएका नौवटै उपसमितिले बैठक गरी महाशिवरात्रिको तयारीलाई तीव्रता दिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए। कोषका सदस्य सचिव डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ । 

यसैगरी कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा प्रचारप्रसार, स्वयंसेवक व्यवस्था उपसमिति, परिषद् सदस्यद्वय देवीप्रसाद बराल र उत्सव बडालको संयोजकत्वमा आवास, भोजन तथा भौतिक व्यवस्था उपसमिति गठन गरिएको छ ।

परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा उपसमिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति, परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोजकत्वमा साधुसन्त तथा पूजापाठ व्यवस्था उपसमिति गठन गरिएको छ । 

यसैगरी परिषद् सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण तथा रात्रिकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा मेला, बजार व्यवस्थापन, साज सजावट उपसमिति र कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा मूल्याङ्कन, तथ्याङ्क सङ्कलन तथा स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ । यी सबै उपसमितिको नियमित बैठक गरी तयारीका काम तीव्रगतिमा भइरहेको जानकारी पनि उनले गराए। 
  
महाशिवरात्रिका अवसरमा फागुन ६ गते पशुपतिनाथ मन्दिर प्राङ्गणमा नेपाली सेनालाइमात्र खटाउने निर्णय पनि कोष सञ्चालक परिषद्ले गरेको छ । महाशिवरात्रिका अवसरमा कोषले लिङ्ग पुराणसमेत आयोजना गर्न लागेको छ । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आमन्त्रण गरेको कोषले जनाएको छ ।
 
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको स्वागतका लागि पनि कोषले विशेष तयारी गरेको जनाएको छ । पशुपति क्षेत्र परिसरका सम्पदामा पनि रङरोगन गरी महाशिवरात्रिका लागि चिटिक्क बनाइएको छ ।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्