नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती मनाइयो

काठमाडौं, माघ २४ : नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सम जयन्तीका अवसरमा मंगलबार तिलगंगास्थित सञ्चारग्राममा रहेको बालकृष्ण समको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । त्यस्तै कवि शिरोमणि लेखनाथ पौडेल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा समेत माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, बालकृष्ण सम फाउण्डेशनका संयोजक मदनदास श्रेष्ठ लगाएतले त्रिमूर्ति कवि शिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुने धारणा राखेका थिए।
बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो । औपचारिक रुपमा समले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गरेका थिए।
बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि विभिन्न क्षेत्रमा कलम चलाएका थिए । समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त छ ।











