Kathmandu Press

बेदकोटमा पन्ध्र शय्याको नगर अस्पताल निर्माण हुँदै

बेदकोटमा पन्ध्र शय्याको नगर अस्पताल निर्माण हुँदै

कञ्चनपुर, माघ २३ : कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण सुरु गरेको हो । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो । 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण सुरु भएको हो। सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए। 

Hardik ivf

‘दुई वर्षभित्र सक्ने गरी २०७८ मा ठेक्का सम्झौता गरेका थियौँ, ढिलो गरी काम सुरु भयो,’ उनले भने, ‘आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको छ।’ सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घरआँगनमा दिलाउने र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्था सिर्जना गर्नका लागि नगर अस्पताल निर्माण गरिन लागेको उनले बताए। 

बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पातल निर्माण गरिन लागेको बताइन् । ‘नगर अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ,’ उनले भनिन्, ‘ल्याब, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुनेछन।’ उनले अस्पताल सञ्चालनमा आए यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताइन्। 

स्थानीयवासीले स्वास्थ्य आधारभूत आवश्यकता भएकाले नगरपालिकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । ‘पालिकाले निर्माण सम्पन्न गरिसक्ने बेला काम सुरु गरेको,’ स्थानीय गणेश भट्टले भने, ‘हातको औँला काटिए पनि महेन्द्रनगर बजार पुग्नुपर्ने बाध्यता छ यसको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’ हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ।

प्रकाशित मिति: १०:४२ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्