Kathmandu Press

ए डिभिजन लिग : अपेक्षामै सीमित औसत टिम

काठमाडौं, पुस २२ : नेपाली व्यावसायिक फुटबलको सर्वाधिक माथिल्लो डिभिजनको फुटबल प्रतियोगिता हो– सहिद स्मारक ए डिभिजन लिग।

सीमितबाहेक अधि....

ए डिभिजन लिग : अपेक्षामै सीमित औसत टिम

काठमाडौं, पुस २२ : नेपाली व्यावसायिक फुटबलको सर्वाधिक माथिल्लो डिभिजनको फुटबल प्रतियोगिता हो– सहिद स्मारक ए डिभिजन लिग।

सीमितबाहेक अधिकांश खेललाई हेर्ने हो भने जारी लिगमा खेलाडीको प्रदर्शन निराशाजनक छ। कुनै पनि खेलाडी भविष्यको स्टारका रूपमा उदाउन सकेका छैनन्। कुनै पनि टिम उत्कृष्ट प्रदर्शनकै आधारमा उपाधि होडमा छैनन्।
 
राष्ट्रिय टिममा परेका खेलाडीको प्रदर्शन पनि औसत छ। पाँचाैं चरणको खेल चलिरहँदा मंगलबार अर्को निराशाजनक खेल दशरथ रंगशालामा भयो। फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाबीचको खेलमा कुनै चार्म थिएन। उनीहरूले फुटबललाई सुन्दर बनाउने कुनै पनि कला मैदानमा देखाउन सकेनन्। गोलरहित बराबरी भएको खेलमा दुवै क्लबले छिटफुट मौका सिर्जना गर्नुबाहेक गतिलो प्रदर्शन गर्न असफल रहे। 

कमजोर बल पोसेसन, मिसपास, फितलो फिनिसिङ अनि सुनसान रंगशाला। प्रतिष्ठित ए डिभिजन लिग चल्दै गर्दा दशरथ रंगशालामा मंगलबार देखिएको दृश्य सर्वाधिक लोकप्रिय फुटबलको वर्तमान हबिगत हो। अर्कोतर्फ अन्तर्राष्ट्रिय खेल हुँदा भरिभराउ हुने रंगशालामा क्लबहरूले आफ्नै समर्थक पनि मैदान छिराउन सकिरहेका छैनन्।

उपाधि दाबेदार क्लबहरूको प्रदर्शनमा नै दर्शकविहीन हुने रंगशालमा औसत क्लबको प्रदर्शन सुनसान हुनु अन्यथा होइन। तर औसत क्लबहरूले उत्कृष्ट फुटबल खेल्नै नसक्ने हुन् त? शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकी भन्छन्, ‘औसत टिमसँग धेरै अपेक्षा हुन्न। आफूलाई जोगाउन मैदान उत्रने हो।’

तर, बुढाथोकी आफैँ पनि फ्रेन्ड्सविरुद्धको खेल साँच्चिकै कमजोर रहेको मान्छन्। उनी भन्छन्, ‘हामीले थोरै मौका पायौँ, तर राम्रो मौकामा पनि गोल गर्न सकेनौँ।’ उनले भनेजस्तै हिमालयन शेर्पाले दोस्रो हाफको अन्त्यतिर केही राम्रा मौका चुकायो। शेर्पा मात्र होइन, फ्रेन्ड्सको पनि हबिगत उही रह्यो। त्यसो त जारी लिगमा यी दुई क्लब मात्र होइन, प्रायः क्लबहरूको अवस्था उस्तै छ। फ्रेममा उत्कृष्ट प्रहार थोरै मात्रै भएका छन्। फ्रेन्ड्स र शेर्पाले मंगलबार सोही लयलाई निरन्तरता दिए।

बलिया टिमविरुद्ध औसत टिमको प्रदर्शन कमजोर हुँदा अन्यथा हुन्न। तर आफू समान हैसियतका क्लबसँग पनि मैदानमा जम्न नसक्नुले दीर्घकालीन फुटबलका लागि क्लबहरूको भविष्य चुनौतीपूर्ण रहेको प्रष्ट पार्छ। लिगबाट राष्ट्रिय स्टार जन्मने विश्वास हुन्छ तर अपेक्षा गरिएकासँग पनि जारी लिगमा निराशा नै बढी हात लागेको छ।  फुटबलमा सधैँ नतिजा निस्कन्छ भन्ने होइन।

तर, नतिजाविहीन खेलमा पनि हेर्नलायक पलहरू धेरै हुन्छन्। दर्शकको अपेक्षा पनि त्यही हो। उत्कृष्ट गोलबाहेक फुटबलमा वान टु वान पास, बलियो बल पोसेसन र एक–अर्काको पोस्टमा निरन्तर राम्रा आक्रमण, गोलरक्षकको उत्कृष्ट बचाउ पनि वर्तमान फुटबलका सर्वाधिक हेर्नलायक क्षणका रूपमा रहन्छन्।

तर, रंगशालामा विपक्षी पोस्टको नजिक पुर्‍याउने र गोल गर्नेभन्दा कर्नर बनाउन प्रयास गर्ने खेलाडीको मनोदशा बुझिनसक्नु छ। फुटबलको सुन्दरताको अपेक्षा दर्शकले हरेक पलमा गरिरहेका हुन्छन्। उनीहरूले टिकटमा पैसा खर्च गरेपछि सन्तुष्ट हुन सक्ने आधार कम्तिमा देशको प्रतिष्ठित ए डिभिजन लिगमा हुनैपर्छ।

फ्रेन्ड्सका प्रशिक्षक मार्कुस डनटान लिगको नतिजामा सन्तुष्ट छन्।  तर उनी पनि मैदानको प्रदर्शनमा असन्तुष्ट देखिए। डनटान भन्छन्, ‘मैदानमा साँच्चिकै कमजोर खेल भयो। स्तरअनुसार मैदानमा प्रदर्शन नहुनु निराशाजनक हो।’ कमजोर खेलमा उनको रणनीति के त? 

‘अभ्यासमा गरेको प्रदर्शन खेलाडीले मैदानमा गर्न सकिरहेका छैनन्,’ डनटान भन्छन्, ‘खेलाडीहरूले आफ्नो क्षमता चिनेर सक्दो प्रयास गर्नुपर्छ। अभ्यासको कला मैदानमा पुर्‍याउनुपर्छ।’

प्रकाशित मिति: २२:५२ बजे, मंगलबार, पुस २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्