Kathmandu Press

भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

रूकुमपूर्व, माघ २१ : रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुन। उनी जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुगेका छन। बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्छन।

भेडाको उनबाट राम्रो आम्दानी गर्दै आएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उनीसँग भोटे कुकुर छन् र भोटे कुकुरको माग निकै छ । बुढाले भेडा रक्षाका लागि भोटे कुकुर पालेका छन। यही कुकुरमध्ये उनीसँग दुईवटा माउ कुकुर पनि छन् । ती माउ कुकुरले वर्षमा १० वटा छाउरा जन्माउँछन् । कुकुरका छाउरा बेचेर उनले राम्रो आम्दानी गर्छन। एउटा कुकुरको छाउराको मूल्य रू १० देखि २० हजारसम्म पर्छ । 

'भोटे कुकुरका छाउराको माग निकै छ । काठमाडाैं, पोखरालगायत सहरबाट माग आउँछ, माग पूरा गर्न सकिन्न,' उनले भने, 'अहिले माग धान्नै गाह्रो भइसकेको छ ।' उनले सबै कुकुरका छाउरा/छाउरी रू १० हजारमा बिक्री गरेका छन।

अर्का भेडा गोठाला अकविर पुनमगरसँग पनि भोटे कुकुरका छाउरा थिए । राम्रोसँग हुर्किएका छाउरा रू २० हजारसम्म बिक्री गरेको उनको भनाइ छ । उनीसँग भएका छ वटा छाउरा रू १० हजारदेखि रू २० हजारसम्म बिक्री गरेको उनले सुनाए।

'एउटा माउ कुकुरले दुईदेखि पाँचवटासम्म बच्चा जन्माउँछ,' उनले भने, 'बिक्रीमा कुनै समस्या छैन, भाउ पनि बर्सेनि बढिरहेको छ, हिमाली भेगका भेडीखर्कहरूमा पशु–चौपाया र घरको रक्षा गर्न कुकुरपालन अनिवार्य जस्तै छ ।'

ठूलो ज्यान गरेको भोटे कुकुरको स्वभाव अन्य कुकुरभन्दा फरक हुन्छ । दिनभर सुत्ने भोटेकुकुर रातभर घरको सुरक्षामा गर्छ । रुकुमपूर्वको माथिल्लो भेगका अधिकांशले पाल्ने भोटे कुकुर पछिल्लो समय सबैतिर पालिन थालिएको छ ।

प्रकाशित मिति: १८:३७ बजे, शनिबार, माघ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्