अरूण चौधरी जेल चलान हुँदा कोइरी खुलेआम, प्रहरी मूकदर्शक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदा र सभामुखको निर्वाचनको दिन पनि कोइरी संसदमै उपस्थित थिए।काठमाडौं, माघ २० : बाँकेको कोहलपुरबाट बिहीबार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद अरुणकुमार चौधरीलाई शुक्रबार कारागार चलान गरिएको छ। चौधरी नाउपाका तर्फबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
२०६६ भदौ ३ गते कैलालीको तत्कालीन बलिया गाविसका महादेव बजगाईको लु२त २११ नम्बरको ट्याक्टरमा आगो लगाएको अभियोगमा भएको जेल सजाय र जरिवाना भुक्तानका लागि चौधरी पक्राउ परेका थिए। २०७० वैशाख ९ गते कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले चौधरीले ६ महिना कैद सजाय भोग्नुपर्ने र पीडितलाई ८ लाख १९ हजार ४२३ रुपैयाँ (दामासाही) उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो।
चौधरीले उच्च अदालतमा पुनरावेदन नदिएपछि उनलाई प्रहरीको फरार सूचीमा राखिएको थियो। फरार सूचीमै रहेका बेला चुनाव जितेर प्रतिनिधिसभा सदस्य बनेका चौधरीलाई जिल्ला अदालत धनगढीमा उपस्थित गराएर कैद भुक्तानका लागि जेल चलान गरिएको हो।
तर सँगै नेकपा एमालेका तर्फबाट चुनाव जितेर आएका सांसद लक्ष्मी महतो कोइरी भने कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि उनलाई पक्राउ गर्न प्रहरी मूकदर्शक बनेको छ। कोइरी पनि कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग सांसदको शपथ लिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदा र सभामुखको निर्वाचनको दिन पनि कोइरी संसदमै उपस्थित थिए।
महोत्तरी–१ बाट चुनाव जितेका कोइरीविरुद्ध मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका सई थमन विश्वकर्माको हत्या गरेको आरोप छ। एम्बुलेन्समा रहेका विश्वकर्मालाई जबर्जस्ती निकालेर हत्या गरेको आरोप लागेका कोइरीलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालतमा पेस गर्न भनेको छ। कोइरीलाई पक्राउ गर्न संसदमै चर्को आवाज उठे पनि प्रहरी मूकदर्शक बनेको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर कोइरीलाई पक्राउ नगरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। ‘कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपप्रधान एवं गृहमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा पक्राउ नपरेकोप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको थियो।
सांसद चौधरीलाई खोजीखोजी पक्राउ गर्दा सत्ता गठबन्धनको प्रमुख दल एमालेका फरार सांसद कोइरीलाई पक्राउ नगरिएको भन्दै नाउपाले समेत गम्भीर प्रश्न उठाएको छ। उक्त प्रकरणपछि आफ्नो पार्टीलाई मात्र निसाना बनाएको भन्दै नाउपा सरकारसँग रुष्टसमेत बनेको छ। पुर्पक्षका लागि थुनामा राखिनुपर्ने एमाले सांसद कोइरीे भने संसद् भवनभित्रै शपथ खाएर खुलेआम छन्।
२०७२ सालको मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई हत्या गरेको अभियोगमा कोइरीविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा छ। सुरुमा उनीविरुद्ध धनुषा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो।
धनुषा जिल्ला अदालतको आदेशअनुसार १ लाख रुपैयाँ धरौटी राखेर तारेखमा रहेका कोइरीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालतले धरौटी रकम अस्वीकार गर्दै थुनामै राखेर मुद्दाको कारबाही गर्न आदेश दिएको छ। नेपाल प्रहरीको छानबिन प्रतिवेदनले नै थमन विक हत्या प्रकरणमा कोइरीलाई मुख्य योजनाकारका रूपमा दोषी किटान गरेको छ।
महोत्तरी गौशालाका कोइरी जनता समाजवादी पार्टी (जसपा) त्यागेर चुनावको मुखमा एमाले प्रवेश गरेका थिए। त्यसपछि कोइरीलाई एमालेले महोत्तरी–१ बाट उम्मेदवार बनाएको थियो। उच्च अदालतको आदेशलाई गुमराहमा राखेर कोइरी उम्मेदवार बनेका थिए। प्रतिनिधिसभा निर्वाचनमा समेत कोइरीले वारेसमार्फत उम्मेदवारी दिएका थिए। निर्वाचित भएपछि पनि वारेसमार्फत नै प्रमाणपत्र बुझेका उनी शपथ, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनका बेला निष्फिक्री संसदमा पुगेका थिए।
२०७२ भदौ २५ गते थमन विकको बर्बरतापूर्वक हत्या भएको थियो। सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत विक मधेसी मोर्चाका कार्यकर्ताले निकालेको जुलुसका क्रममा सुरक्षामा खटिएका थिए। सोहीक्रममा विकलाई नियन्त्रणमा लिएर लाठी, ढुंगा, इँटाले हानेर विकलाई गम्भीर घाइते बनाइयो।
उनलाई प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगे। त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा महोत्तरी–८ सनोखडाको धान खेतमा आन्दोलनकारीले विकलाई घाइते अवस्थामै एम्बुलेन्सबाटै थुतेर पुनः निर्मम ढंगले आक्रमण गर्दै बेहोस पारिएका विकको घटनास्थलमै ज्यान गएको थियो।
गम्भीर फौजदारी अपराधमा मुछिएका कोइरीलाई शपथ खुवाउन नहुने भन्दै पीडित पक्ष, नागरिक समाज र मानवअधिकारवादीले प्रश्न पनि उठाएका थिए। सांसद चौधरी जेल चलान हुँदा कोइरीलाई पक्रन भने प्रहरीले आश्चर्यजनक ढंगले मौनता साँधेको छ। राज्यको ड्युटीमा रहेका प्रहरीकै हत्या प्रकरणमा मुछिएका कोइरीको उन्मुक्तिका कारण यतिबेला कानुनीराजमा राजनीतिक अपराधीकरण हुन थालेको भन्दै प्रश्न उठिरहेको छ।