Kathmandu Press

सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए

सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए

काठमाडौं, माघ १९ : योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन्। 

कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ९९ हजार आठ सय ३५, प्रदेश नं १ बाट ३८ हजार आठ सय ४९, मधेसबाट २१ हजार ५६, गण्डकीबाट १४ हजार आठ सय ९३, लुम्बिनीबाट १३ हजार नौ सय ६७, सुदूरपश्चिमबाट एक हजार पाँच सय तीन र कर्णालीबाट एक हजार एक सय ८५ श्रमिक सूचीकृत भएका छन्।

Hardik ivf

कोषले हालसम्म २९ अर्ब १२ करोड योगदान रकम सङ्कलन गरेको छ । सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो। कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । 

योगदान रकम सङ्कलन गरेको तीन महिनापछि कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत सुविधा दिन थालेको थियो । कोषले योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। 

कोषले हालसम्म रु तीन खर्ब ३१ करोड दाबी भुक्तानी गरेको छ । कोषमा आबद्ध भएकामध्ये ६० हजार छ सय १६ जनाले लाभ लिएका छन् । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ३७ करोड ३१ लाख ८६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत रु ४४ करोड २१ लाख १५ हजार, आश्रित परिवार सुरक्षा योजनाबापत रु ५८ करोड ५३ लाख ५८ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत रु दुई अर्ब ७९ करोड ४४ लाख ७५ हजार भुक्तानी गरेको छ । 

घातक रोगको उपचार गर्न योगदानकर्तालाई १० लाख

कोषले १० घातक रोगको उपचार गर्न योगदानकर्तालाई सेवा अवधिभर रु १० लाखसम्मको उपचार खर्च उपलब्ध गराउन थालेको छ । घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने व्यक्तिले यस्तो सुविधा पाउनेछन् । 
    
कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगका लागि सेवा अवधिभरमा रु १० लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । 

यो सुविधा कोषमा योगदान गर्न छाडेको दुई वर्षसम्म र योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म उपयोग गर्न सकिने कोषले जनाएको छ। 

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्