Kathmandu Press

निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भण्डारी

निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भण्डारी

चन्द्रौटा, माघ १७ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताएका छन।
    
कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको १३औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रलाई माथि उठाउने गरी आफू गम्भीरताका साथ लागि परेको बताए। नेपालको अर्थतन्त्र यति बेला सङ्कुुचनमा आएको बताउँदै व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले आफ्ना २१ बुँदे कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै उनले एक साताभित्र आफ्नो मन्त्रालयले पनि कार्ययोजना निर्माण गर्ने जानकारी दिए। यसमा उद्योग वाणिज्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा उद्योगलाई माथि उठाउने गरि बजेट विनियोजनमा जोड दिइने बताए। निजी क्षेत्रको अभिभावक नपाएको गुनासो बढेको भन्दै मन्त्री भण्डारीले ती गुनासोलाई सम्बोधन पहिलो प्राथमिकता रहेको पनि प्रतिबद्धता जनाए। कपिलवस्तु जिल्लामा उद्योगको सङ्ख्या धेरै रहेकाले अहिले जटिल समयमा उद्योगलाई बचाउनुपर्नेमा उनको जोड थियो । धार्मिक तथा पर्यटकीय हिसाबले पनि कपिलवस्तु जिल्ला ऐतिहासिक रहेकाले यहाँ रहेका स्थलमा पर्यटकलाई आकर्षित गराउनुपर्ने उनको भनाइ थियो ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, वेशभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए । ‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: २०:२९ बजे, मंगलबार, माघ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्