Kathmandu Press

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

राँझा, माघ १७ : श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते  भएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । 

उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने उनको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा बद्रि चापागाइँले बताए। 

 ‘घाँटी वरिपरी पनि जलेको घाउको असरले श्वासप्रश्वासमा समस्या आउँछ कि भन्ने चिन्ता छ,’ डा चापागाईँले भने,‘उहाँको अवस्था अहिले स्थिर छ, छोरो गुमाउँदा मानसिक रुपमा तनावमा हुनुहुन्छ।’ 

कोहलपुर नगरपालिका २ निवासी भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा र छोरालाई आगो लगाउँदा घाइते भएका थिए । उपचारका क्रममा छोराको मृत्यु भएको थियो । 

‘बरु मलाई मात्रै आगो लगाइदिएको भए हुन्थ्यो, मैले छोरालाई बचाउन सकिन,’ अस्पतालको शय्याबाट विकले भनिन् । कोठा थुनेर आफूलाई धेरै कुटपिट गरेपछि माइत जान हिँडेकी आफू र छोरालाई श्रीमानलाई पछाडिबाट पेट्रोल छ्यापेर आगो लगाइदिएको उनको भनाइ छ । 

कालिकोटबाट बसाइँसराइ गरी कोहलपुर–२ शक्तिनगरमा बसोबास गर्दै आएका भानुभक्त गलैँचाको व्यापार गर्ने काम गर्छन् । उनका अनुसार श्रीमानले हरेक दिनजसो झगडा र कुटपिट गर्दै आएका थिए ।

श्रीमती र छोरालाई आगो लगाएर फरार भएका भानुभक्तलाई भारतको सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए। 

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, माघ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्