Kathmandu Press

धौलागिरि अस्पताल भवन निर्माण : तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा

धौलागिरि अस्पताल भवन निर्माण : तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा

बागलुङ, माघ १६ : बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुने भएको छ । विसं २०७० मा आशिष÷मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो । 

निर्माण कम्पनीले रू १० करोड छ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको थियो । अस्पतालको दुईवटा भवन समयमै निर्माण गरे पनि ‘सी’ ब्लक बनाउन ढिला हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ । भवन बनाउन ठेकेदार कम्पनीले चार पटक म्याद थप्नु परेको थियो । कम्पनीका प्रतिनिधि केही समय सम्पर्कविहीन भएपछि भवन निर्माणमा समय लागेको अस्पतालले जनाएको छ । 

Hardik ivf

निर्माण व्यवसायी र सघन सहरी तथा भवन निर्माण आयोजनाबीच बिल भुक्तानीका विषयमा समस्या भएपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगे पनि भवन हस्तान्तरण हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए। 

‘भवन सम्पन्न गर्न धैरै समय लाग्दैन, रङ्ग रोगनको काम मात्रै बाँकी छ,’ उनले भने। उनका अनुसार ठेकेदारले पुरानो भुक्तानी नपाएका कारण भवन हस्तान्तरणमा ढिलाइ भएको हो ।

चालिस कोठाको भवन निर्माणका क्रममा  अस्पतालको जग्गा, विद्युत् पोल तथा कोरोनाजस्ता कारण देखाउँदै निर्माण कम्पनीले निर्धारित समयभन्दा छ वर्ष ढिला काम सम्पन्न गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिए। 

‘निर्माण व्यवसायीको पुरानो भुक्तानी बाँकी रहेकाले  अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ, बजेट अभाव भएको छ । भवन निर्माण अन्तिम चरणमा पुगेको छ,’ श्रेष्ठले भने, ‘एक महिनाभित्र भवन हस्तान्तरण गर्छौँ।’

धौलागिरि अस्पतालका अनुसार जिल्ला अस्पतालबाट ५० शय्यामा रुपान्तरण भएपछि थप भवन निर्माण थालिएकामा निर्माण सम्पन्न नहुँदै २०० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि बढाएको हो । गण्डकी प्रदेश सरकारले दुई सय शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्माले बताए। 

विसं २०६४ मा निर्माण सुरु भएको ‘ए’ ब्लक समयमै सम्पन्न भएको थियो भने २०६६ सालमा निर्माण सुरु भएको ‘बी’ ब्लक भने दशवर्षमा सम्पन्न भएको थियो । ‘सी’ ब्लक भवन समयमा नै निर्माण नहुदा प्रशासनीक सेवा जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ भने अस्पतालमा चमेनागृह छैन।
 
कोरोना सङ्क्रमणका बेला अस्पताललाई भवन अभावका कारण समस्या परेको थियो । नवनिर्मित भवनबाट सेवा सञ्चालन हुनथालेपछि भौतिक संरचनाको अभाव अन्त्य हुने अस्पतालले जनाएको छ।  

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्