Kathmandu Press

संकटमा कालीगण्डकी सभ्यता

कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र होइन, यो त सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर हो भन्ने कुरा बिर्सदा कालीगण्डकीको सभ्यता संकटमा पर्दै गएको सरोकारवालाको बुझाइ छ।
संकटमा कालीगण्डकी सभ्यता

गलेश्वर, माघ  १५ : कालीगण्डकी भन्नेबित्तिकै राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे एउटा कवितांश सम्झना हुन्छः

‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गंगा भनन कसरी कुद्दछ्यौ सालिग्रामरु’

घिमिरेले याे कवितांशमा कालीगण्डकीलाई सालिग्राम कसरी कुद्छ्यौ भनी प्रश्न गरी गरेका छन्। यसमा कालीगण्डकीको महिमा झल्किएको छ। शालिग्राम कुद्ने विशिष्ट बरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउँमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै संकटमा परेको छ।

कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र होइन, यो त सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर हो भन्ने कुरा बिर्सदा कालीगण्डकीको सभ्यता संकटमा पर्दै गएको सरोकारवालाको बुझाइ छ। राजा भरतले तपस्या गरेको पवित्रभूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान बनेको छ। हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

कालीगण्डकीको महिमा यतिमै मात्र सीमित रहदैन। कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु, पन्क्षी, किट, पतङ्गदेखि लिएर मानव जातीलाईसमेत सेवा पुर्‍याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताए। 

'कालीगण्डकीको धार्मिक महत्व त अवर्णनीय छ नै, यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन', पण्डित पराजुलीले भने। कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ। यसबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ। कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ। नेपालकै सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ। पछिल्लो समय कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण कालीगडकी चर्चामा छ। 

बुटवल, भैरहवा, रुपन्देही, कपिलवस्तुलगायतका क्षेत्रमा कालीगण्डकीको पानी पुर्‍याएर सिँचाइ, जलविद्युत् र अन्य प्रयोजनका लागि लाभान्वित गर्ने वृहत् उद्देश्यका साथ डिजाइन गरिएको राष्ट्रिय आयोजनाका रुपमा यसलाई लिइएको छ।

तर यो आयोजनाबाट गण्डकी प्रदेश भने नराम्ररी बिच्किएको छ। यसले मुस्ताङदेखि यादेवघाटसम्मको विशाल क्षेत्रफलमा गम्भीर असर पार्ने विश्लेषणका साथ गण्डकी प्रदेशका स्याङ्जा, पाल्पा र तनहूँका जनप्रतिनिधि आक्रोशित बनेका छन्। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले त कालीगण्डकी डाइभर्सन पूरा नहुने भन्दै कडा टिप्पणी गरी डाइभर्सनप्रति गम्भीर असहमति जनाएका थिए। 

डाइभर्सन आयोजनाले स्याङ्जाको राम्दीदेखि देवघाटसम्मको एक सय ३३ किलोमिटरअन्तर्गत चापाकोट नगरपालिका, रामपुर नगरपालिका हुँदै रम्भा, निस्दी, घिरिङ, बुलिङटार, बौदीकाली, देवघाट गाउँपालिका हजारौंँ परिवार प्रभावित हुने अनुमान गरिएकाले यस क्षेत्रका मानिस आयोजना अगाडि बढ्ने भयो भनेर थप आक्रोशित बनिरहेका छन्। यता गण्डकी प्रदेशका पर्वत, बागलुङ, म्याग्दी मुस्ताङ लगायतका जिल्लाका बासिन्दा चिन्ता भने बेग्लै छ।

कालीगण्डकीको दक्षिणी क्षेत्रमा लुम्बिनी प्रदेश लक्षित डाइभर्सनको विषयले कालीगण्डकीको मौलिक अस्तित्व नासिने खतरा बढेको टिप्पणी गर्न थालिएको छ। उत्तरी क्षेत्रमा भने यसको मौलिकस्वरुप नासिनुका  साथै वातावरणीय अस्तित्वसमेत खतरामापर्ने चिन्ताले गाँजेको छ। कालीगण्डकीको किनारैकिनार हुँदै खनिएको कालीगण्डकी करिडोर, भूक्षय, बाढीपहिरो आदिले कालीगण्डकी नदीको जलचक्र प्रणाली नै प्रभावित भएको वातावरणविद् सापकोटाले बताए।

त्यसैगरी कालीगण्डकीबाट अनियन्त्रित रुपमा निकालिने नदीजन्य पदार्थ र सहरी क्षेत्रको फोहरमैला विर्सजन गरिने चलनले पनि कालीगण्डकीले मौलिकस्वरुप गुमाउँदै गएको छ। हालै मात्र भारतको अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राखिने भगवान श्रीराम र सीताको मूर्ति बनाउनका लागि कालीगण्डकीबाट शिला लगिनुले पनि यो नदी अहिले विश्वमा नै चर्चित बनेको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधिसभा सदस्य एवम् पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता विमलेन्द्रनिधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गर्दै नदीको मौलिकस्वरुप नासिँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो।

कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र कालीगण्डकीको शिला लैजान लागिएको अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताए। 

‘हामी अत्यन्तै खुसी हर्षित छौँ, नेपालको कालीगण्डकीबाट भगवान रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएका छौँ', उनले भने, 'यो नदीको मौलिक अस्तित्वलाई बचाइराख्न आवश्यक छ।' (रासस)

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्