हिमपातले जनजीवन कष्टकर, सञ्चार अवरुद्ध, हवाई सेवा ठप्प
काठमाडौ, पुस २१ : निरन्तर परेको हिमपातले अवरुद्ध ओखलढुङ्गा–जन्तरधाप–सल्लेरी–फाप्लु सडकखण्ड आंशिक रुपमा खुलेको छ । शुक्रबारदेखि परेको हिमपातका का....

काठमाडौ, पुस २१ : निरन्तर परेको हिमपातले अवरुद्ध ओखलढुङ्गा–जन्तरधाप–सल्लेरी–फाप्लु सडकखण्ड आंशिक रुपमा खुलेको छ । शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई सङ्घीय तथा प्रदेश राजधानीसँग जोड्ने उक्त सडकखण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुनः अवरुद्ध भएको थियो । शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुङ्गा र सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएको थियो ।
साँझ करिब ५ बजे १५ वटा जति जीप ओहोरदोहोर गरेपछि पुनः हिमपात हुँदा सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी नारायनबहादुर बस्नेतले जानकारी दिए । आइतबार बिहानैदेखि सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडकको हिउँ पन्छाएर सडक खुलाएको प्रहरीले जनाएको छ । सडकमा आइस जमेका कारण चिप्लो हुने भएकाले सावधानी अपनाउनुपर्ने सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले बताए ।
हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । चिसोबाट बिशेष गरी बुढाबुढी, केटाकेटी र पशुपछी प्रभावित भएका छन् । अत्याधिक हिउँकै कारण वस्तुलाई आवश्यक घाँससमेत सङ्कलन गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पाले बताए । यस्ता समयमा मौसमी रोगको सम्भावना उच्च हुने भएकाले न्यानो गरी बस्न तथा झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
हवाई सेवा ठप्प
हिमपातसँगै मौसम प्रतिकुल हुँदा हवाई सेवा अवरुद्ध बनेको छ । जिल्लाको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा आज कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।
आज बिहान सवा ९ बजे काठमाडौँ फाप्लुको उडान तालिका भएको नेपाल एयरलाइन्सको विमान पत्ताले क्षेत्र पार गर्न नसक्दा पुन काठमाडौँ नै फर्केको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने बिरामीलाई समस्या भएको बताइएको छ ।
टेलिफोन पनि सेवा अवरुद्ध
सोलुखुम्बुको खुम्बु क्षेत्रमा बिहीबारबाट निरन्तर परेको हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध बनेको छ । नेपाल टेलिकमको लेण्डलाइन, सिडिएमए र नमस्ते फोन सेवा अवरुद्ध बनेको हो । लुक्ला, चौँरीखर्क, नाम्चेमा बिहीबारदेखि परेको हिउँ अझै नरोकिएको लुक्लाका स्थानीय तोया श्रेष्ठले जानकारी दिए ।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

