शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग
शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू हिउँमा फसेका हुन् । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले हिमाली क्षेत्रमा हिमपात भएपछि पर्यटकहरू समस्यामा परेका हुन् । स्थानीय गाइडका अनुसार हिमपातका कारण उक्त क्षेत्र पार गर्न कठिन हुने भन्दै स्थानीयवासीले पर्यटकहरूलाई सचेत गराएका थिए ।
सुर्खेत, कात्तिक १५ : डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् ।
शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू हिउँमा फसेका हुन् । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले हिमाली क्षेत्रमा हिमपात भएपछि पर्यटकहरू समस्यामा परेका हुन् । स्थानीय गाइडका अनुसार हिमपातका कारण उक्त क्षेत्र पार गर्न कठिन हुने भन्दै स्थानीयवासीले पर्यटकहरूलाई सचेत गराएका थिए ।
तर, स्थानीयको सुझाव बेवास्ता गर्दै उनीहरू अघि बढेपछि हिउँमा फसेको जानकारी प्राप्त भएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन् । स्थानीयवासीले हिमाल पार गर्न कठिन हुने जानकारी गराउँदागराउँदै पनि उनीहरू त्यसतर्फ गएको र त्यसपछि सम्पर्कविहीन भएको उनले बताइन् ।
शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ को बीचमा पर्ने उक्त पासहरूमा मोबाइल फोनको नेटवर्कसमेत उपलब्ध छैन । सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनले बताए ।
उपल्लो डोल्पामा पुगेका २४४ पर्यटकमध्ये ६ सम्पर्कविहीन
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन् । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन् । सम्पर्कविहीन भएका ६ जना भारतीय पर्यटक पनि यही २४४ जनाको सूचीभित्र रहेका छन् ।
पछिल्लो समय शे–फोक्सुन्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । गत आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जना पर्यटकले फोक्सुन्डो तालको भ्रमण गरेका थिए ।
तर, उच्च हिमाली क्षेत्रमा मौसमको प्रतिकूलता, अचानक हुने हिमपात र सञ्चार सम्पर्कको अभाव पर्यटकका लागि चुनौती बन्दै आएको छ । विशेषगरी नुमला र वागला पासजस्ता उच्च हिमाली मार्गमा हिमपात भएपछि आवतजावत जोखिमपूर्ण हुने गरेको छ ।
खोजीका लागि हेलिकप्टर माग
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले पछिल्लो जानकारीअनुसार पनि ६ जना भारतीय पर्यटक सम्पर्कमा नआएको बताए । उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए ।
अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको छ । मोबाइल नेटवर्क नहुने क्षेत्र र बाक्लो हिउँका कारण पर्यटकहरू कुन अवस्थामा छन् भन्ने यकिन हुन सकेको छैन ।
सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन् । उनीहरू धोबाट फोक्सुन्डो तालतर्फ आउँदै गरेका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताइन् ।
प्रतिकूल मौसमका कारण उद्धारमा चुनौती देखिएपछि हेलिकप्टरबाट खोजी तथा उद्धार गर्ने तयारीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । पर्यटकहरू सम्पर्कमा नआएसम्म उनीहरूको अवस्थाबारे यकिन गर्न नसकिने सुरक्षा अधिकारीहरूले बताएका छन् ।






