Kathmandu Press

पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

पाँच वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

बाँके, माघ १५ : बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो ।

ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरुले दुःख पाएको स्थानीयको भनाइ छ । सम्झौता अनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो । 

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ । सडक निर्माणको माग गर्दैै स्थानीयले पटक-पटक आन्दोलन गर्दै आएका छन् । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामील निर्माण  ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गरे। उनले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरुप कालोसूचीमा राखिने बताए। 

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए।  सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएका छन् । 

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, माघ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्