Kathmandu Press

केन्द्रको निर्णयविरुद्ध उत्रिने नेकपाका सांसद्को चेतावनी

हेटौंडा, पुस २० : प्रदेश ३ को राजधानीको विषयमा नेकपाले गरेको निर्णयविरुद्ध उत्रिने नेकपाकै सांसदले चेतावनी दिएका छन्।

नेकपाले प्रदेश ३ को रा....

केन्द्रको निर्णयविरुद्ध उत्रिने नेकपाका सांसद्को चेतावनी

हेटौंडा, पुस २० : प्रदेश ३ को राजधानीको विषयमा नेकपाले गरेको निर्णयविरुद्ध उत्रिने नेकपाकै सांसदले चेतावनी दिएका छन्।

नेकपाले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेको थियो। त्यहि अनुसार, गर्न प्रदेश समिति र प्रदेश संसदीय दललाई निर्देश दिएको छ।

नेकपाको निर्णयपछि प्रदेश ३ को राजधानी र नाम टुङ्याउन हेटौंडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय गलपासो बनेको छ।

प्रदेश ३ भित्रका १३ जिल्लामध्ये मकवानपुर र चितवन बाहेकका ११ वटा जिल्लाका दुईतिहाइभन्दा बढी सदस्यले हेटौंडा स्थायी राजधानी उपयुक्त छैन भनेका छन्। जसले गर्दा नेकपाभित्र भने पार्टीको ह्वीप जारी हुनसक्ने भयले नेकपाका प्रदेशसभा सदस्यलाई थप समस्या भएको हो।

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले स्थायी राजधानी हेटौँडा अधिकांशका लागि अनुपयुक्त भएको बताउँदै भक्तपुर या काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने बताए।

अधिकांश प्रदेशसभा सदस्यको चाहना काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने धारणा रहेको बताउँदै उनले भने, ‘सबै दृष्टिकोणले भक्तपुर वा काभ्रे उपयुक्त हो, शहरी विकास मन्त्रालयको प्राविधिक टोलीले भक्तपुर उपयुक्त भनेर प्रतिवेदन बुझाएकै हो, हामीले चुनावमा प्रतिबद्धता जनाएकै हौँ तर अहिले पार्टीको परिस्थिति फरक हुँदा समस्या आएको छ।’

अर्का सदस्य चेतनाथ सञ्जेलले हेटौँडा स्थायी राजधानी अनुपयुक्त भएको भन्दै पार्टी सचिवालयको निर्देशकसहित काभ्रे वा हेटौँडाकाबारेमा छलफल गरेर सहमति कायम गर्ने प्रयास भइरहेको बताए।

प्रदेशसभा सदस्य बसुन्धरा हुमागाइँले काभ्रेमा राजधानी नबनाउन नेकपाभित्र निकै चलखेल भएको बताउँदै काभ्रेविरुद्ध अदृश्य शक्तिसमेतको चलखेल बढेको आरोप लगाइन्। उनले संविधानले दिएको अधिकार प्रयोग गर्ने र पार्टील ह्वीप जारी नगर्ने हो भने दुईतिहाइ बहुमतभन्दा बढी काभ्रेको पक्षमा मतदान हुने जिकिर गरिन्। ‘हामी इतिहास रचेर जान्छौँ, काभ्रेको पक्षमा मतदान गर्छौँ, हाम्रा सन्ततीलाई हामीलाई धिक्कार्ने बाटो दिँदैनौं,’ उनले भनिन्।

पार्टीको लिखित निर्देशन नआएकाले सुझावलाई मान्नै पर्छ भन्ने नभएको नेकपाका अधिकांश सदस्यहरूको भनाइ छ। अर्का प्रदेशसभा सदस्य रत्न ढकालको पनि उस्तै भनाइ छ। उनले भने, ‘काभ्रेलाई स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गर्छौं, बहुमत सांसदको चाहना हेटौँडाको विकल्प काभ्रे नै हो, तर अहिले पार्टीको निर्देशन र विभिन्न खालका प्रलोभन बाँडेर काभ्रेको पक्षमा दुईतिहाइ पुग्न नदिने षडयन्त्र भइरहेको छ।’

उनले यो विषयमा पार्टीले निर्णय गर्नु र निर्देशन दिनु निकै दुःखद् भएको बताउँदै संवैधानिक अधिकार खोस्ने प्रयास भएको गुनासो गरे।

अर्का सदस्य लक्ष्मण लम्सालले हेटौँडा मै पनि पार्टीको गुटको भेला हुनु दुःखद् भएको बताउँदै अन्तिम समयसम्म काभ्रे राजधानी बनाउन आफूहरु लड्ने र आफ्नो मत काभ्रेका लागि जाहेर गर्ने बताए।

अर्का सदस्य चन्द्र लामाले भोलि २१ गते काभ्रेलाई राजधानी बनाउने प्रस्ताव आफूले पेश गर्ने बताउँदै संविधान र पार्टीको विधान विपरीत निर्णय आउनु विडम्बना भएको बताए। उनले भने, ‘पार्टीको जस्तोसुकै निर्देशन आओस, काभ्रे मै राजधानी बनाउन म प्रस्ताव दर्ता गराउँछु, निर्देशन मान्नुपर्छ भन्ने छैन, मतदानमा ‘फ्लोर क्रस’ हुन्छ, हुन्छ।’ (राससको सहयोगमा)

प्रकाशित मिति: ०३:१८ बजे, आइतबार, पुस २०, २०७६