Kathmandu Press

धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

झापा, माघ १४ : निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कनकाई झापा जेभी विर्तामोडले ठेक्का लिएको सडकको हालसम्मको वित्तीय प्रगति ३५ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत बन्दै गरेको सडक धुलाबारीबाट मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौटारसम्म २५ दशमलव ३७० किलोमिटर पूर्णरुपमा कालोपत्रे निर्माण गरिने पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले बताए।

प्रदेश नम्बर १ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु ४६ करोड ७२ लाख ४८ हजार बजेटमा निर्माण भइरहेको सो सडक निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि निर्माण व्यवसायीले विसंं २०८० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी दोस्रोपटक म्याद थप गरेको छ ।

इञ्जिनियर साहले हालसम्म छ दशमलव पाँच किलोमिटर सडकको ग्राभेल र दुवै साइडमा ६० प्रतिशत ड्रेन निर्माण भइसकेको बताए। सात मिटर चौडाइसहितको निर्माण हुने सडकमा दुई स्लोव कल्भर्ट, २४ वटा होम पाइप कल्र्भट राखिने उनको भनाइ छ । 

सो सडक निर्माणसँगै इलामको रोङ गाउँपालिकामा उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणमा सहयोग पुग्ने स्थानीयवासी बताउँछन् । एकै पटक शिलान्यास गरिएको धुलाबारी–ज्यामिरगढी–भद्रपुर सडकको कालोपत्र कार्य भने अन्तिम चरणमा पुगेको छ । सो सडकको ठेक्का लिएको हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको छ । भद्रपुर–ज्यामिरगढी–धुलाबारी–गोजाबस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको २०७५ सालमा शिलान्यास गरिएको थियो ।

प्रकाशित मिति: ०८:०० बजे, शनिबार, माघ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्