विद्यार्थीको खाजाको पैसाबाट एकल महिलालाई सहयोग

काभ्रे, माघ १२ : आदर्श विद्या मन्दिर (एबिएम स्कूल) बनेपामा कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयमा अध्ययनरत विद्यार्थीले परिवर्तनका लागि हामी नामक समूह बनाएर खाजाको पैसाबाट एकल महिलालाई सहयोग गरेका छन। खाजाको पैसा र तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट आपत विपतमा परेकी जनागालकी एकल महिलालाई ४० हजार एक सय पचास रुपैयाँ आर्थिक सहयोग गरेको हो।
विद्यार्थीले ती एकल महिलाको छोराछोरीलाई एबिएम स्कूलको कक्षा १२ सम्म निःशुल्क पढाईदिने, कानुन संकायका विद्यार्थीले निःशुल्क कानुनी सहयोग गर्ने र आमसंचार विषयमा अध्ययनरत विद्यार्थीले उनको अवस्थाका विषयमा अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गरेका छन् । व्यावहारिक शिक्षा लिने र दिनेक्रममा पीडित महिलालाई सहयोग गर्दै बनेपा नपा–१० जनागाल स्थित एकल महिलाको घरअगाडि जम्मा भएर लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम समेत संचालन गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, बनेपा नपाकी उपप्रमुख विमला सापकोटा दाहाल, जिल्ला प्रहरी कार्यालयकी डिएसपी अन्जना श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, बनेपा नपा १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, वडा नम्बर ११ का वडाध्यक्ष शिवकुमार थापा, हंसदा योग आश्रमका संरक्षक, अग्रज पत्रकार मधुसुधन गुरागाई, लक्ष्मण तिमल्सिना, विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिना लगायतको उपस्थितीमा उत्साहजनक कार्यक्रम भयो ।
श्रीपञ्चमीका दिन पारेर आयोजित कार्यक्रममा विद्यार्थीहरुले घरेलु हिंसा रोकथाम सम्वन्धि नाटक प्रस्तुत गरेका थिए । टिनले घेरेर बनाएको टहरा समेत आगलागी भएर बिल्लिवाठ भएकी उक्त महिलाका लागि वडामा जम्मा भएको सहयोग रकम समेत वडाध्यक्ष चन्द्रबहादुर खड्काले सोही कार्यक्रममा पीडित महिलालाई प्रदान गरेका थिए।












