ठोकर्पा पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति

सिन्धुपाल्चाेक, माघ ११ : जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ । फार्ममा एक सय २० बाख्रा रहेका थिए ।
बुधबार बिहान आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोसी–२ का वडाध्यक्ष पूर्णबहादुर महतले जानकारी दिए। करेन्ट सर्ट भएर आगलागी भएको हुनसक्ने वडाध्यक्ष महतले बताए। आगलागीबाट फार्मको सम्पूर्ण भौतिक संरचनासमेत जलेर नष्ट भएको छ । बाख्राका लागि आवश्यक दानलगायत अन्य सामग्रीसमेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिए।
स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय जालबहादुर केसीले रु दुई करोड बढी लगानीमा कृषि तथा पशु फार्र्म सञ्चालनको सुरुआत गरेका थिए। विदेशबाट फर्किएका एक जना आफन्तसहित मिलेर सञ्चालन गरेको फार्र्मबाट केही समयपछि नै उत्पादन सुरुआतको चरणमा भए पनि आगालागीबाट सबै क्षति भएको केसीले बताए ।
गाउँपालिकाले सहयोग गर्ने स्थानीय युवाको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उद्देश्यले करोडौँको लगानीमा सञ्चालन भएको कृषि फार्र्ममा आगलागी भएपछि युवाको उत्साहलाई कायम नै राख्नका लागि सुनकोसी गाउँपालिकाले सहयोग गर्ने भएको छ । आगलागीको स्थलगत निरीक्षणमा पुग्नुभएका गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरे।
त्यस्तै आगालागीबाट जलेको घर निर्माणका लागि विपद् प्राधिकरणमार्फत सहजीकरण गरेर गाउँपालिकाको समेत सहयोगमा घर निर्माण गरिदिने प्रतिबद्धता पनि अध्यक्ष तिमल्सिनाले गरे । वडाध्यक्ष पूर्णबहादुर महतले पनि वडा, गाउँपालिकालगायत अन्य सरकारी, गैरसरकारी सङ्घ संस्थासँग समन्वय गरेर कृषि फार्मलाई पुरानै अवस्थामा सञ्चालनका लागि आफूले पहल गर्ने प्रतिबद्धता गरे ।












