Kathmandu Press

उत्तरी गोरखामा भारी हिमपात

उत्तरी गोरखामा भारी हिमपात

गाेरखा, माघ ११ : उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए।

'मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ,' उनले भने, 'अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।'

उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उनको भनाइ छ । 'पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ,' स्थानीयवासी दोर्जेले भने, 'केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन पर्‍यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।'

अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए। 'यो वर्ष ढिलो गरि हिमपात भयो,' उनले भने 'हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।' हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उनले जानकारी दिए। 'हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ, ' दोर्जेले भने, 'वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।'

प्रकाशित मिति: २०:२१ बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्