Kathmandu Press

श्रीरामको मूर्तिका बनाउन कालीगण्डकीबाट शिला निकालियो

श्रीरामको मूर्तिका बनाउन कालीगण्डकीबाट शिला निकालियो

म्याग्दी, माघ ११ : भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ । 

शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गरिनेछ । म्याग्दीको बेनी नगरपालिका-६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा रहेको शिला क्रेनमार्फत् निकालेर गलेश्वर पठाइएको छ ।

Hardik ivf

भोलि वसन्तपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए। गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमापूजा र गङ्गापूजन जनकपुर मन्दिरका पिठाधीश रामतपश्वेर दास र अयोध्याको राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला अयोध्या पठाउन लागिएको हो ।

हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताए। 'यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कालीगण्डकीको किनारका शिला देवताका अवतार हुन्,' उनले भने।

बेनी नगरपालिकाका नगर प्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन गरी टिपरमा राखी अयोध्या पठाउन लागिएको बताए। 'अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ,'  उनले भने।

बेनी नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि शिला अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले बताए।

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्