‘सरकारी अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्छ’
विद्युतीय चुलो राष्ट्रिय अभियानको चौँथो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विद्युतीय चुलोमा कर छुटका लागि आफ्नो मन्त्रालय र आफ्नो पार्टी सकारात्मक रहेको बताए।
काठमाडाैं, माघ ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहुँच हुने गरेको गुनासो रहेको उल्लेख गर्दै त्यस्तो अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्ने बताएका छन्।
विद्युतीय चुलो राष्ट्रिय अभियानको चौँथो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विद्युतीय चुलोमा कर छुटका लागि आफ्नो मन्त्रालय र आफ्नो पार्टी सकारात्मक रहेको बताए। अभियानलाई प्रोत्साहन गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, 'विद्युतीय चुलोको प्रयोगले एकातिर पेट्रोलियम पदार्थको आयातमा कमी भई मुलुकको व्यापार घाटा कम हुन्छ, भने अर्कोतिर जनताको स्वास्थ्यमा समेत सुधार हुन्छ।'
उनले विद्युतीय चुलोमा काम गर्ने व्यवसायीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गरे। कार्यक्रममा विद्युत् नियमन आयोगका सचिव गोकर्णराज पन्थले विद्युतीय चुलोको प्रयोग बढाउन र यसलाई दिगो बनाउन गुणस्तरीय विद्युत् र गुणस्तरीय चुलो आवश्यक पर्ने बताए। विद्युतीय चुलो प्रोत्साहनको विकल्प नभएको उल्लेख गर्दै उहाँले मुलुकभर विद्युतीय प्रणाली सुधार गर्दै जानुपर्नेसमेत बताए।
मन्त्रालयका सहसचिव मधु भेटवालले विद्युत् उत्पादनमा निजी क्षेत्रको समेत संलग्नताले विद्युत् उत्पादन बढेको र त्यसको स्वदेशमा खपतका लागि पनि विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने आवश्कता औंल्याए। यसले पेट्रोलियम पदार्थको आयात समेत कम गर्न योगदान पुग्ने उनको धारणा थियो।
वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले चुलो सुधार अभियानमा निजी क्षेत्र र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसको दिगोपनाका लागि गुणस्तरीय चुलो र विद्युत् आवश्यक पर्ने उल्लेख गरे।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत घिमिरे, सामुदायिक उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवाली, केन्द्रका सहायक निर्देशक डा रणबहादुर थापा, अजम्मरी विकास फाउण्डेसनका प्रबन्ध निर्देशक सुवर्णप्रसाद कपाली, फाउण्डेसनका निर्देशक ज्ञानेन्द्रराज शर्मा, प्राक्टिकल एक्सनका पूजा शर्मालगायतले नेपालमा विद्युतीय चुलोको प्रयोगको अवस्था, सम्भावना र चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए।











