सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह पूर्वराजाको आग्रह
‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न हुँदैन,’ सन्देशमा भनिएको छ।
काठमाडौं, साउन १४ : सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन्।
पूर्वराजाले बिहीबार एक सन्देश जारी गर्दै संयम अपनाउन आग्रह गरेका हुन्। उनले सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्।
‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न हुँदैन,’ सन्देशमा भनिएको छ।
नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उनले उल्लेख गरेका छन्। देशको मौलिक मान्यताविपरीत यस्ता अवाच्छित घटना भएको भन्दै उलने चिन्ता व्यक्त गरेका छन्।
‘यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो । त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो,’ उनले भनेका छन्।











