Kathmandu Press

देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था?

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था?

सुनसरी, साउन १४ : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार जयप्रकाशको पेटमा गोली लागेको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो । उनको शव पनि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद आइतबार राति झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको छ । घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए।

तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएपछि जिल्लाको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश अझै जारी छ। सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बुधबारदेखि सुरक्षा निकायको कडा परिचालनपछि सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

यद्यपि, मोरङसहित केही जिल्लामा प्रदर्शनकारीहरू भने सडकमा निस्किएका छन् । मोरङ प्रशासनले पनि सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग संयमता अपनाउन अपिल गरेको छ ।

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, साउन १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्