Kathmandu Press

‘रवि लामिछाने अहिले नेपाली भए पनि नेपाली नागरिक हाेइनन्’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा उनले नागरिकताको समाप्ती राज्य वा व्यक्तिको निर्णयबाट हुने तर प्राप्तिका लागि राज्यको उपस्थिति अनिवार्य हुने तर्क गरे।
‘रवि लामिछाने अहिले नेपाली भए पनि नेपाली नागरिक हाेइनन्’

काठमाडौं, माघ ११ : रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने अहिले नेपाली भए पनि नेपाली नागरिक नभएको  तर्क गरेका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा उनले नागरिकताको समाप्ती राज्य वा व्यक्तिको निर्णयबाट हुने तर प्राप्तिका लागि राज्यको उपस्थिति अनिवार्य हुने तर्क गरे।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा भएकाे सुनुवाइमा सुरुमा रिट निवेदकका तर्फबाट बहस गरेका छन्।

‘रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छैनन् वा एकपटक कायम नरहेको नागरिकता कायम गराउन कानुनले तोकेबमोजिम प्रक्रिया थालनी गरी सो प्रक्रिया पूरा गरी नागरिकता पुन प्राप्त गरेका छैनन् भने उनलाई नेपाली भन्न सकिन्छ तर नेपाली नागरिक भन्न सकिन्न,’ भण्डारीले आफ्नो बहस नोटमा पनि उल्लेख गरेका छन्।

लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपालमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया नै नथालेको बताउँदै वरिष्ठ अधिवक्ता भण्डारीले एउटा व्यक्तिमा जतिसुकै नेपालीपन भए पनि, नेपाली रगत भए पनि नागरिकता लिन सरकारी निकायमा पुग्नुपर्ने र त्यहाँ गएर आवश्यक विवरण पेस गरेर दस्तखत गर्नुपर्ने बताए। उनले किरण गुप्ताको मुद्दा लामिछानेसँग मेल खाने भन्दै नजिर पनि सुनाए।

नेपालमा जन्मिएकी हुर्किएकी किरणले भारतीय नागरिकसँग बिहे गरेपछि आधार कार्ड सबै कागजपत्र बनाएको भण्डारीले बताए। ‘२०१८ मा जब ग्राम विकास समितिको मुखियामा निर्वाचित भएपछि मुद्दा परेको र निर्वाचन आयोगले २०१६ मा नेपालको नागरिकता परित्याग गरेपछि भारतीय नागरिकता लिन प्रक्रिया सुरु नगरेकाले भारतीय नागरिक भन्न नमिल्ने व्याख्या भएको थियो,’ उनले भने, ‘यस्तै सरोजनाथ प्याकुरेलको मुद्दामा नागरिकता नभई राजनीतिक पदमा जान सकिन्न भन्ने व्याख्या भइसकेको छ।’

 ‘विदेशको आवासीय अनुमतिपत्र प्राप्त गरेपछि नेपाल सरकारको र सरकारी संस्थानमा कर्मचारी भई सेवा सुविधा त प्राप्त गर्न पाइँदैन भन्ने कानुनी प्रणाली विद्यमान हुँदाहुँदै शासन सत्तामा पुग्न र शासन गर्न नेपाली नागरिक नभए पनि हुने भनेर व्याख्या गर्न सकिँदैन,’ उनले भने।

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्ण, निकिता ढुंगाना, अमृत खरेललगायतले एउटै बहस नोट पेस गरेका छन्। लामिछानेले नेपाली नागरिकता आफुखुसी त्यागेर अमेरिकी नागरिकता त्यागेको तर अमेरिकी नागरिकता त्यागिसकेपछि नेपालको नागरिकता लिन प्रक्रिया सुरु नगरेको बताएका छन्। त्यसका लागि उनीहरूले नागरिकता ऐनको दफा १० र ११ उधृत गरेर अमेरिकाको नागरिकता त्याग्दैमा स्वतः नेपाली नागरिक नहुने बताए ।

अधिवक्ता रमण कर्णले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिकता सक्रिय हुने भनी गरेको दाबी कानुनविपरीत रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्