Kathmandu Press

द्वन्द्वकालीन हत्या प्रकरणमा गौतमलाई जन्मकैद ठहर

टिआरसीको छानबिनअगावै अदालती कारबाही नरोकिने 
द्वन्द्वकालीन हत्या प्रकरणमा गौतमलाई जन्मकैद ठहर

काठमाडाैं, माघ १० : माओवादी युद्धका बेला मारिएका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरण द्वन्द्वकालीन घटना रहेकाले सफाइ पाउनुपर्ने दाबीसहित अभियुक्त पुष्कर गौतमले दिएको पुनरावेदन सर्वोच्च अदालतबाट खारेज भएको छ।

गौतमलाई जन्म कैदको ठहरसहित तल्लो अदालतबाट तोकिएको सजाय सदर भएको छ। विस्तृत शान्तिसम्झौताअनुसार द्वन्द्वकालीन घटना सत्यनिरूपण तथा मेलमिलाप आयोग (टिआरसी) बाट टुंग्याइनुपर्ने विषय रहेको दाबीसहित तल्लो अदालतबाट भएको जन्मकैदको  सजाय उल्ट्याउन माग राखेर गौतमले २०७३ भदौ २० गते जेलभित्रैबाट पुनरावेदन दिएका थिए। 
गौतमसहितका माओवादी कार्यकर्ताले २०५५ असार १० गते ओखलढुंगा पोकली-२ लेतीका भुवन भनिने उज्जनकुमार श्रेष्ठलाई रामेछापको मन्थली जाँदै गर्दा लिखु खोलाको किनारमा गोली हानेर हत्या गरेको अभियोग थियो। 

गौतमको पुनरावेदनमा पीडितका तर्फबाट बहस गरेका अधिवक्ता सीताशरण मण्डलले द्वन्द्वकालीन घटना भन्दै सफाइ पाउन गरिएको माग दाबी सर्वोच्चबाट सोमबार खारेज भएको बताए।

Hardik ivf

‘सबै घटनालाई द्वन्द्वकालीन भनेर अदालती कारबाही रोक्न नमिल्ने र फौजदारी अपराधको छानबिनमा आउन सक्ने भन्ने लाइनमा सर्वोच्चको फैसला आएको छ,’ अधिवक्ता मण्डलले भने, ‘पूर्ण फैसला आउन बाँकी छ। सबै कुरा फैसलामै आउने छ। पीडित परिवारको न्याय प्राप्तिको लामो कानुनी लडाईंले सफलता पाएको छ।’

गौतमको पुनरावेदनलाई सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुश्मालता माथेमाको इजलासले सोमबार खारेज गरिदिएको छ। यो फैसलासँगै द्वन्द्वकालीन व्यक्ति हत्याका घटनामा सामान्य अदालतमा मुद्दाको कारबाही अघि बढाउन बाधा नपर्ने तग्य स्थापित भएको कानुनविद्ले बताएका छन्। 

टिआरसीले छानबिन गर्नुपूर्व नै बालकृष्ण ढुंगेल र गौतमलगायतको अभियोग स्थापित भएको छ। उज्जन हत्या प्रकरणमा ओखलढुंगा जिल्ला अदालतले ओखलढुंगा जिल्ला अदालतले ७ चैत २०६९ मा तत्कालीन माओवादी नेता ढुङ्गेलसँगै गौतमलाई पनि दोषी ठहर गरेको थियो। 

उज्जनको हत्याविरुद्ध जाहेरी दिएको आरोपमा उनका दाई गणेशकुमार श्रेष्ठको पनि हत्या भएको थियो। जिल्ला अदालतको फैसलापछि फरार रहेका गौतम २०७१ सालमा काठमाडौं बागबजारबाट पक्राउ परेका थिए। गौतमलाई हत्या प्रकरणमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। उज्जन हत्याको बेला गौतम तत्कालीन माओवादीका जिल्लास्तरीय नेता थिए।

हत्या अभियोग दर्ता भएदेखि नै उनी फरार थिए। जिल्ला अदालतको फैसला हुने समयदेखि नै फरार रहेका गौतमले पक्राउपछि जेलभित्रैबाट सर्वोच्चमा पुनरावेदन दिएका हुन्। 

मृतक उज्जनकी दिदी सावित्री श्रेष्ठले सर्वोच्चद्वारा पीडितको पक्षमा न्याय भएको बताइन्। ‘फैसलाले न्याय भएको छ। २४ बर्षदेखिको पीडितको न्यायको लडाईं सफल भएको छ,’ श्रेष्ठले भनिन्, ‘न्यायका लागि सहयोग गर्ने सबैप्रति आभारी छु।’

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्