Kathmandu Press

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

दिपायल, माघ ९ : लामो समयसम्म हिउँदे वर्षा नभएपछि  डोटीमा हिउँदेबाली (गहुँ, जौ, मुसुरो) लगायत नगदे बाली  सुक्न थालेपछि किसान चिन्तित भएका छन् । 

यसवर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, मुसुरो, हिउँदे   तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको बडीकेदार गाउँपालिका–५ का  किसान टङ्क रम्तेलले बताए। 

‘बारीमा लगाइएको अन्नबाली नफल्ने भएपछि परिवार कसरी पाल्ने चिन्ताले सताउन थालेको छ। समयमा पानी नपरेपछि आधा जमिनमा उनले गहुँ छर्न पनि पाएनन्। हिँउदे वर्षा नभएपछि  छरेको गहुँ पनि बारीमा उम्रिएन । अब  भोकमरी हुन्छ की भन्ने डरले सताउन थालेको  छ। उनले भने, ‘खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन्।

कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा किसानाई सुविधा पुगे पनि सिँचाइ, मल, बीउ र कृषिका लागि जनशक्तिको भने अभाव देखिएको बडीकेदार –२ का  अर्का किसान  ललित बडैलाले  बताए। कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ । हिउँदेबाली खडेरीले सुक्न थालेपछि किसानले सिँचाइको लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरिरहेका छन् ।

डोटी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपाली हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । डोटीमा २२ हजार दुई सय ७६ हेक्टर जमिन खेतीयोग्य रहेकामा  हाल १४ हजार दुई सय ९८ हेक्टर   जमिनमा  गहुँखेती हुँदै  आएको छ ।

 गतवर्ष समयमै वर्षा भएका कारण २४ हजार तीन सय १४ मेट्रिकटन गहुँ उत्पादन भएको थियो । समयमै वर्षा भएका कारण गत वर्ष उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए।  पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहँुदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने उनको भनाइ थियोे ।  

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, माघ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्