Kathmandu Press

फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार

फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार

काठमाडौं, माघ ६ : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित भएका छन् । 

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो भए। उनीहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गरे। 

Hardik ivf

प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले  १० हजार राशिसहित सान्त्वना पुरस्कार प्राप्त गरे। । उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
    
प्रतियोगितामा पुरस्कारका लागि छनोट भएका अन्य प्रतियोगीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा सैनिकतर्फ १४ नं बाहिनी प्रथम, विकास निर्माण निर्देशनालय द्वितीय र दुर्गा बक्स गण तृतीय घोषित भए । सैनिक, गैरसैनिक र व्यवसायीबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगितामा सैनिकतर्फ एक हजार पाँच सय र गैरसैनिकतर्फ एक सय ४५ वटा तस्बिर प्राप्त भएको बताइएको थियो । सोही समारोहमा प्रधानसेनापति शर्माले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको उद्घाटन पनि गरेका थिए। 
     
प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। 

नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसर पारेर पछिल्ला वर्षमा यस प्रकारका प्रदर्शनी गर्दै आएको छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष महाशिवरात्रि आगामी फागुन ६ गते परेको छ।

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्