Kathmandu Press

खोटेहाङ–काठमाडौँ बस सेवा सञ्चालन

खोटेहाङ–काठमाडौँ बस सेवा सञ्चालन

खोटाङ, माघ ६ : खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौँसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ । खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौँ र पूर्व तराईको इटहरीसम्म दैनिक बस सेवा सञ्चालन गरेको हो ।

खोटेहाङको वाखुताङ–काठमाडौँ दैनिक बिहान ४ बजे, वाखुताङ–गाईघाट बिहान ५ः३० बजे, खोटाङबजार–काठमाडौँ बिहान ५ बजे, सिम्पानी–काठमाडौँ बिहान ६ः३० बजे र खोटाङबजार–गाईघाट बिहान ६ः३० बजे बस छुट्ने व्यवस्था मिलाइएको छ । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै खोटाङ यातायात प्रालिले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौँसम्मको सिधा यातायात सेवा सञ्चालनमा ल्याएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। 

Hardik ivf

गाउँपालिकाको विभिन्न ठाउँबाट सिधा यातायात सेवा सञ्चालन भएपछि दक्षिणी क्षेत्रका बासिन्दाले उदयपुरको बेल्टारसम्म पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ । दश स्थानीय तह रहेको खोटाङका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ । दुर्गम क्षेत्रका यात्रुले दुई दिनसम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता विद्यमान छ । सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको हिङमाङ बताउँछन्। 

खोटेहाङ गाउँपालिकाले सदरमुकाम दिक्तेल हुँदै काठमाडौँ तथा उदयुपर–इटहरी सिधा यातायात सञ्जाल जोड्ने गरी सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । यसअघि निर्माण गरिएका सडक मर्मत गरेर यातायात सञ्चालन ल्याइएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । अधिकांश ग्रामीण सडक मापदण्डअनुसारका नभएकाले दुर्घटना जोखिम भने उत्तिकै छ। 

खोटेहाङ गाउँपालिका र खोटाङ यातायात प्रालि व्यवसायी सङ्घको साझेदारीमा भाडादरसमेत कायम गरिएको छ । खोटेहाङको वाखुताङ–काठमाडौँसम्म प्रतिव्यक्ति रु दुई हजार सात सय, खोटाङबजार–काठमाडौँ रु दुई हजार पाँच सय, सिम्पानी–काठमाडौँ रु दुई हजार दुई सय तथा रसुवाघाट–काठमाडौँ रु एक हजार नौ सय भाडा निर्धारण गरिएको छ ।

यस्तै वाखुताङ–गाईघाट रु एक हजार चार सय, खोटाङबजार–गाईघाट रु एक हजार दुई सय, खोटाङबजार–इटहरी रु एक हजार छ सय, वाखुताङ–इटहरी रु एक हजार आठ सय, सिम्पानी–इटहरी रु एक हजार पाँच सय, रोक्सिङभञ्ज्याङ–गाईघाट रु एक हजार दुई सय, खोटाङबजार–रसुवाघाट रु छ सय र चिप्रिङ–गाईघाट रु एक हजार तीन सय भाडादर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए। 

प्रकाशित मिति: ११:३० बजे, शुक्रबार, माघ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्