नेपाललाई सहयोग चाहिए एमसीसी लिनुपर्छ : चिनियाँ राजदूत
काठमाडौं, पुस १९ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले अल्पविकसित मुलुक भएकाले नेपालले अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कोओपरेशन (एमसीसी) लगायत....
काठमाडौं, पुस १९ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले अल्पविकसित मुलुक भएकाले नेपालले अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कोओपरेशन (एमसीसी) लगायतका सहयोग लिदा राम्रो हुने बताएकी छन्।
शुक्रबार बिहान चिनियाँ राजदूतावास आयोजित पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिने क्रममा राजदूत यान्कीले नेपालले आवस्यक परे सबै देशको सहयोग लिनु
पर्ने बताएकी हुन्।
‘नेपाल अझै अल्पविकसित मुलुक हो, यसको विकासका लागि चीन लगायत अन्य देशको पनि सहयोग चाहिन्छ’ राजदूत यान्कीले भनिन्, ‘एमसीसी अमेरिकन सरकारको सहयोग हो, नेपाललाई चाहिन्छ भने लिनुपर्छ, त्यसका लागि कस्तो सहयोग लिने र कस्तो नलिने भन्ने निर्णय गर्न नेपाल सरकार स्वतन्त्र छ ।’
विषेशगरी सत्तारुढ दल नेकपामा एमसीसीका विषयमा विवाद चुलिँदै गएको छ। संसदबाट अनुमोदन हुनुपर्ने ५० करोड अमेरिकी डलरको सहयोग रकम अनुमोदन गर्नु पर्ने र गर्न नहुने दुई खेमामा नेपकपाका नेताहरु देखिएका छन्। एमसीसीको विवादका विषयमा कतिपयले चीनसँग पनि जोड्न थालेपछि चिनियाँ राजदूतले त्यस विषय प्रष्ट पारेकी छन्।
राजदूत यान्कीले केही हप्ताअघि पक्राउ परेका चिनियाँ नागरिकले कानुन विपरीत काम गरेकाले कारबाही हुने पनि बताइन्। ‘पर्यटक भिषामा नेपाल आएर गैर पर्यटकीय काम गर्नेलाई नेपाल प्रहरी पक्राउ गरेको छ’ उनले भनिन्, ‘उनीहरुलाई कानून अनुसार कारबाही हुन्छ।’
राजदूत यान्कीले चीन, नेपाल र भारतको सम्वन्ध टु प्लस वान’ नभई त्रिपक्षीय भएको पनि बताइन्। टु प्लस वान भनेको चीन र भारतले नेपाललाई निर्देशन गर्ने होइन’ उनले भनिन्, ‘यो त्रिपक्षीय सहयोगकै अवधारणा हो। तीनै देश समान हुन्।’
टु प्लस वानको विषयमा थप प्रष्ट पार्दै उनले अहिले अफगानिस्तानका सुरक्षा वललाई चीन र भारतले सयुक्त रुपमा तालिम दिइरहेको पनि बताइन्। राजदूत यान्कीले सन् २०१९ चीन र नेपालबीचको सम्वन्ध थप मजबुत भएको बताइन्।
‘चिनियाँ राष्ट्रपतिको भ्रमण, नेपालका विभिन्न विकास निर्माणमा चीन सरकारको सहयोग लगायतका क्षेत्र दुई देशबीच भएको सहयोगले चीन र नेपालबीचको सम्वन्ध यो बर्ष थप उचाइमा पुगेको छ’ उनले भनिन्।
उनले चीन र नेपालबीच भएको विभिन्न परियोजना, सहयोग आदानप्रदान लगायत चिनियाँ पर्यटकको संख्यामा वृद्धि लगायतका तथ्यांक पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरेकी थिइन्।






