हल गोरु संरक्षणका लागि कृषक प्रोत्साहन कार्यक्रम शुभारम्भ
किसानलाई कृषि औजारको रुपमा प्रयोग हुने हाते ट्याक्टरको बदला हलगोरु पाल्न प्रोत्साहन गर्दै नगरपालिकाले गोरुपालक किसानलाई १० हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो।
सिन्धुपाल्चोक, माघ ५ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत स्थानीय हल गोरु संरक्षणका लागि कृषक प्रोत्साहन कार्यक्रमको शुभारम्भ गरेको छ।
किसानलाई कृषि औजारको रुपमा प्रयोग हुने हाते ट्याक्टरको बदला हलगोरु पाल्न प्रोत्साहन गर्दै नगरपालिकाले गोरुपालक किसानलाई १० हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो।
कृषक प्रोत्साहन कार्यक्रमको कांग्रेस सांसद मोहनबहादुर बस्नेतले शुभारम्भ गरे। कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत नगरपालिकाले हल गोरु पालक किसानलाई प्रोत्साहन स्वरुप एकैपटक ७७ लाख अनुदान वितरण गर्ने जनाएको छ।
कार्यक्रममा सांसद बस्नेतले हलगोरु पाल्ने किसानलाई अनुदान दिने सुरुवात नेपालको ७७ जिल्लामै बाह्रबिसे नगरपालिका पहिलो भएको दाबी गरे। गाउँघरमा गाईभैंसी तथा हलगोरु पाल्ने प्रचलन हराउँदै गएकोमा बाह्रबिसे नगरपालिकाले सुरु गरेको उक्त कार्यक्रमको बस्नेतले प्रशंसा गरे।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकरणमा राखेर नै किसानमैत्री अनुदान कार्यक्रम अघि सारेको जानकारी दिए।












