Kathmandu Press

गण्डकी प्रदेशमा केही दिनभित्रैमा सरकारले पूर्णता पाउने

गण्डकी प्रदेशमा केही दिनभित्रैमा सरकारले पूर्णता पाउने

गण्डकी, माघ ५ : गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन ।

मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुङ्गो छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताए। 'मन्त्रालयको सङ्ख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्रीज्यूले सुरुदेखि नै यसैमा जोड दिइरहनुभएको छ,' उनले भने।

Hardik ivf

सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासले उल्लेख गरे। दुई–तीन दिनभित्रैमा यो विषय टुङ्गोमा पुग्ने उनको भनाइ छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पुर्‍याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ ।

यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा छन । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित हुने देखिएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। बिनाविभागीय मन्त्रीको हैसियतामा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन।

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्