Kathmandu Press

सरकारी जग्गा हडपेर सुकुटे बिच रिसोर्टको रजाइँ, सम्बन्धित निकाय मौन

झन्डै २५ वर्षयता सञ्चालनमा रहेको उक्त रिसोर्टको आफ्नो नाममा रहेको जग्गा जम्मा ४ रोपनीजति मात्रै छ। तर उक्त रिसोर्टले सरकारी निकायलाई प्रयोगशाला बनाउँदै झन्डै ३३ रोपनी सरकारी जग्गा कुनै प्रमाण र आधारबिना नै भोगचलन गर्दै आएको छ।
सरकारी जग्गा हडपेर सुकुटे बिच रिसोर्टको रजाइँ, सम्बन्धित निकाय मौन
Hardik ivfHardik ivf

सिन्धुपाल्चोक, माघ ५ : पछिल्लो समय एउटा गतिलो पर्यटकीय ‘हब’ बन्दै गएको सुकुटेमा र्‍याफ्टिङ, कायाकिङलगायत जलविहार गर्न रुचाउनेको ठुलो भिड लाग्ने गरेको छ। तर सिन्धुपाल्चोकको पर्ने उक्त चर्चित पर्यटकीय गन्तव्यमा एउटा सुकुटे बिच रिसोर्टले वर्षाैंदेखि न सरकारी जग्गा हडपेर ‘तर मार्दै’ आएको छ।

नदीकिनार र वनको जग्गा हडपेर बनाइएको उक्त रिसोर्टले आफूले भोगचलन गरेको जग्गाको न सरकारी भाडा तिर्छ न सम्बन्धित निकायले त्यसबारे खोजीनिती नै गर्छ। साे रिसाेर्टका कारण अन्य पर्यटन व्यवसायीकाे समेत बदनाम हुने गरेकाे छ।

jagga1674127437.jpg

झन्डै २५ वर्षयता सञ्चालनमा रहेको उक्त रिसोर्टको आफ्नो नाममा रहेको जग्गा जम्मा ४ रोपनीजति मात्रै छ। तर उक्त रिसोर्टले सरकारी निकायलाई प्रयोगशाला बनाउँदै झन्डै ३३ रोपनी सरकारी जग्गा कुनै प्रमाण र आधारबिना नै भोगचलन गर्दै आएको छ। त्यसले जग्गा भोगचलन गरेबापत अहिलेसम्म सरकारलाई भाडा तिरेको अभिलेख छैन। उसले जग्गा भोगचलनका लागि अहिलेसम्म कुनै निकायसँग अनुमतिसमेत लिएको छैन। उक्त जग्गा भाडामा लगाउन कुनै सार्वजनिक सूचना पनि जारी गरिएको छैन।

रिसोर्टले चर्चेको जग्गा वन र नदीबगरमा पर्छ। सरकारी जग्गा भोगचलन गर्न दिने कि नदिने भनेर नियम बनाउने र कार्यान्वयन गर्ने निकाय जिल्ला वन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोक हुन्। तर यी दुवै निकाय त्यसप्रति मूकदर्शक बनेका छन्। रिसोर्टले नदीकिनाराको जग्गा हडपेर रिसोर्टको संरचना धमाधम बनाइरहेको छ।

रिसोर्टले बनाउँदै गरेको संरचना हेर्दै जिसस सिन्धुपाल्चोक अध्यक्ष बालकृष्ण श्रेष्ठ दिनानुदिन त्यही बाटो हिँडिरहेका हुन्छन्। तर उनले त्यसप्रति खासै चासो र चिन्ता राखेको पाइँदैन।

पछिल्लो समय गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी भाडामा लगाइएको बाहेका सरकारी जग्गा सरकारको मातहतमा ल्याउन भने पनि सुकुटे रिसोर्टले भने आफूले हडपेको जग्गा निर्वाध रूपमा प्रयोग गरिरहेको छ। सरकारी जग्गामा रिसोर्टको रजाइँ भएपछि स्थानीयले विरोध गर्दै आएका छन्। तर जिसस, जिल्ला वन कार्यालय र प्रहरी प्रशासन भने मूकदर्शक बनिरहेका देखिन्छन्। बगर र वनको जग्गा भाडामा दिनुपरे पनि सार्वजनिक सूचना जारी गरिन्छ तर अहिलेसम्म सो रिसोर्टका हकमा त्यसो गरिएको पाइएको छैन।

sukute 1231674127438.jpg

रिसोर्टको गतिविधि र जग्गा हडपेको विषयमा स्थानीयले पटकपटक आवाज उठाउँदै आए पनि जिल्ला प्रशासन कार्यालय मौन रहँदै आएको छ। रिसोर्टविरुद्ध दिइएका उजुरी जिल्ला प्रशासनमै थन्किएर बसेका छन्। सुकुटे बिच रिसोर्टका सञ्चालक महेन्द्र थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो रिसोर्टमा राख्ने गरेका छन्। त्यसैको फाइदा उठाउँदै उनले अहिले सबै सरकारी निकायलाई अनावश्यक रूपमा हप्कीदप्की गर्ने गरेको सूचनासमेत बाहिरिएको छ। 

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमवासमा पर्ने सो रिसोर्टले वडाध्यक्षलाई समेत थामथुम बनाउँदै आएको स्थानीयको भनाइ छ। राजनीतिक शक्तिको आडमा वन र बगर मिच्दै चलाइएको सुकुटे बिच रिसोर्टमा अनेकौं अपिैय घटनासमेत हुने गरेका छन्। त्यहाँ कहिले बलात्कारका घटना त कहिले लागुऔषध सेवन गरेर झैझगडा हुने गरेका छन्। त्यहाँ कहिलेकाहीँ चोरीसमेत हुने गरेको छ।

गत असार १८ गते सुकुटे बिच रिसोर्टभित्र बलात्कारको एउटा घटना घट्यो। रिसोर्ट र त्यहाँ कार्यरत कर्मचारीको लापरबाहीकै कारण सो घटना भएको प्रहरीको ठम्याइ छ। रिसोर्टमा रक्सीले मातिएर आफ्नो कोठामा सुतेकी एक युवतीमाथि बलात्कार हुँदा समेत रिसोर्ट र त्यहाँका कर्मचारीले कुनै पर्वाह गरेनन्। भोलिपल्ट बिहान युवती घर फर्किने बेला पैसा तिर्न खोज्दा पर्स हराएको हल्ला भएपछि मात्रै रिसोर्टले सिसिटिभी फुटेज हेरेको थियो। त्यसमा युवती बलात्कृत भएको प्रमाण पनि भेटिएको थियो।

sukute1674127438.jpg

सो घटना लुकाउन रिसोर्ट सञ्चालक थापाले राजनीतिक शक्तिको आड लिए। तर प्रहरीले मुद्दा दर्ता गरेर सञ्चालक थापा र कर्मचारीलाई सोधपुछका लागि जिल्ला प्रहरी कायालय सिन्धुपाल्चोक बोलायो। राजनीतिक शक्तिको आडमा सुरक्षा निकायलाई प्रभाव र प्रलोभनमा पार्न खोजेपछि प्रहरीले थापालाई चेतावनी दिएको थियो। अहिले थापाले रिसोर्टमा राति ८ बजेपछि प्रहरीलाई समेत प्रवेश गर्न दिँदैन। यसरी हेर्दा सुकुटे बिच रिसोर्टमा बस्दा कुनै सुरक्षाको प्रत्याभूति गर्न नसकिने अवस्था देखिएको छ।  

थापाले  प्रहरी प्रशासनलाई राजनीतिक पहुँचका बलमा घटनालाई थामथुम गर्न खोजेपछि प्रहरीले थप ‘एक्सन’ लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। सुकुटे बिच रिसोर्टमा पछिल्लो समय लागुऔषध कारोबारदेखि सेवन गर्नेको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको स्थानीयको आरोप छ।  

सिन्धुपाल्चोकका रिसोर्ट व्यावसायीको साझा संस्था सिन्धु पर्यटन संघले सञ्चालक थापालाई पटकपटक सचेत रहन आग्रह रिसकेको छ। तर थापाले त्यसको बेवास्ता गर्दै आएका छन्। केही समयअघि थापा संघका कोषाध्यक्ष पनि थिए तर उनलाई अन्य रिसोर्ट सञ्चालकले पटकपटक सम्झाएर रिसोर्टमा भएका गतिविधि रोक्न आग्रह गर्दा पनि अटेर गरेपछि अहिले उनलाई अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै संस्थाबाट निकालिएको छ। 

सिन्धु पर्यटन सघका अध्यक्ष नारायण श्रेष्ठले संघ र नियमविपरीत काम गर्दै आएकाले संघले थापालाई हटाएको बताए। श्रेष्ठले भने, ‘हामीले रिसोर्ट चलाउँदा पैसा मात्रै हेरेर हुँदैन, पर्यटकका लागि सेवासुविधा र सुरक्षा प्रत्याभूति हुने खालको व्यवहार पनि गर्नुपर्छ। त्यसैले हामीले सुकुटे घुम्न आउने पर्यटकका लागि अन्य रिसोर्टमा राम्रो सेवासुविधा र सुरक्षाको प्रबन्ध मिलाएका छौं।’
 

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्