कांग्रेस बैठक : राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई
काठमाडौं, पुस १७ : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा आफ्ना तर्फबाट उठाउने उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई दि....
काठमाडौं, पुस १७ : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा आफ्ना तर्फबाट उठाउने उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई दिएको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने अधिकार केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई दिने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ।
‘कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३२ (९) बमोजिमको कार्यसम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
बैठकले आवश्यक परामर्श गरी केन्द्रीय पदाधिकारीको बैठकले राष्ट्रिय सभाका सदस्यको निर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीका तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने निर्णय गरेको शर्माले बताए।
यस्तै, निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताए।
यस्तै, बैठकले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई सहयोग एवं समर्थन गर्नका लागि संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा रहेका सबै राजनैतिक दलहरु र सबै मतदाताहरुलाई आह्वान गरेको छ।






