चार इजिप्सियन नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय
काठमाडौं, पुस १७ : सरकारले गैरकानूनी रुपमा नेपालमा बस्दै आएका चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ।
हालै बसेको म....
काठमाडौं, पुस १७ : सरकारले गैरकानूनी रुपमा नेपालमा बस्दै आएका चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले लामो समयदेखि गैरकानूनी रूपमा नेपालमा बसोबास गर्दै आएका इजिप्टका चार जना नागरिकलाई देश निकाला गर्ने निर्णय भएको जानकारी दिए।
उनले उनीहरुको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार ६ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाख रुपैयाँसमेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको बताए।
यस्तै, बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस अनुसार जगतबहादुर कार्की लगायत १३ जना व्यक्ति तथा परिवजारलाई दोहोरो नपर्ने गरी आर्थिक सहायकता/क्षतिपूर्तिवापत १२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए।
यसैगरी, चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी–महाराजगञ्ज–धोवीखोला खण्डको सडक सीमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री बाँस्कोटाले बताए।






